भक्तपुरको सूर्यविनायक नगरपालिका-१, बिरुवामा आफ्नै भवनमा केन्द्रीय कार्यालय तथा सोही नगरपालिका-७, गुण्डुमा सेवाकेन्द्र सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.का ब्यबस्थापक सुदर्शन चौलागाईँले बजारमा चलेका सहकारी विरोधी हल्लाले मानिसहरुमा सहकारीलाई हेर्ने नजर नकारात्मक बनेपनि त्यो हल्लाले हाम्रो यस संस्थामा अशर नगरेको बताउनुभएको छ । अलगपथसँग कुरा गर्दै उहाँले ‘यो १ वर्षमा अघिल्लो वर्ष भन्दा ६ करोड रुपैया भन्दा बढी थप वित्तीय कारोबार भएको हाम्रो यो संस्थामा तरलाता पर्याप्त मात्रामा छ भने खराब ऋण छैन’, भन्नुभयो । सूर्यविनायक नगरपालिकाभर कार्यक्षेत्र रहेको यस संस्थामा शेयर सदस्य संंख्या ४,९६६, शेयर पूँजी रु.६,२१,१८,००० , निक्षेप संंकलन रु.६५,४३,८८,३२४, ऋण लगानी रु.६२,५६,०८,७०८ , जगेडा कोषमा रु.७,०८,८३,७७५ र कुल कारोबार रु.८६,६३,२८,०५७ रहेको उहाँको भनाइ छ ।

उहाँले गत असोज २० गते शनिबार सम्पन्न यस संस्थाको २१औँ वार्षिक साधारण सभाले गरेको निर्णय अनुसार यही पुस ७ गतेदेखि आउदो माघ १४ गतेसम्म बिस्तारित मञ्च सहितका कार्यक्रमहरु सञ्चालन गर्ने तयारी भएको जानकारी दिनुभयो । उहाँका अनुसार सो संस्थाले यही पुस ७ गते विहान त्यसेै संस्थाको केन्द्रीय कार्यालय भवन बिरुवा र पुस ९ गते त्यसै संस्थाको सेवाकेन्द्र , गुण्डुमा लघुवित्त व्यवस्थापन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम गर्ने , पुस ७ गते दिउसो सोही संस्थाको आयोजनामा रेम्बो इङ्लिस स्कुल , गाम्चामा १० वटा विद्यालयको सहभागिता रहने गरी विद्यालयस्तरीय अन्तर मा.वि. हाजिरी जवाफ प्रतियोगिता गर्ने , यही पुस १४ गते सिरुटार, यही पुस १५ गते दधिकोट , यही पुस २१ गते बिरुवा र आउदो माघ १४ गते गुण्डुमा विस्तारित मञ्च कार्यक्रम गर्ने र यही पुस २८ गते सोही संस्थाको आयोजना तथा ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी हस्पिटलको प्राविधिक सहयोगमा श्री कुलमाया मा.वि. बिरुवामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
यस अघि सो संस्थाको आयोजना र त्यसै संस्थाको शिक्षा उपसमितिको समन्वयमा गत मंसिर २२ र २३ गते ललितपुरको महालक्ष्मी नगरपालिका-९, कोट डाँडास्थित हिमालय भ्यू होमष्टेमा उक्त संस्थाका कर्मचारीहरुका लागि २ दिवसीय अभिमुखीकरण तालिम सञ्चालन भएको थियो ।


उक्त संस्थाका १२ जना कर्मचारीको सहभागिता रहेको सो तालिमको सोही संस्थाका लेेखा सुपरीवेक्षण समिति संयोजक शालिकराम घिमिरे र चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७९/०८० मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको त्यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई नियमानुसार संरक्षित पूँजी फिर्ता कोषको रकम वितरण गर्ने तयारी गरेको व्यवस्थापक चौलागाईँको भनाइ छ ।
उहाँले ‘सहकारीमा देखा परेका समस्या सहकारी अभियान र सरकारले मिलेर समाधान गरी यो क्षेत्रको थप विकास र प्रवर्द्धन गर्नुपर्छ’, भन्नुभयो ।





