बागमती प्रदेशका मुख्यमन्त्री जम्मरकट्टेलले पुन: पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल आज पुन: बागमती प्रदेश सभाबाट विश्वासको मत लिनुभएको छ । आज बसेको बागमती प्रदेश सभाको बैठकमा सहभागी १०८ जना प्रदेश सभा सदस्यमध्ये नेकपा(एमाले)का २७, नेकपा (माके)का २१, नेकपा (एस)का ७ र हाम्रो नेपाली पार्टीका १ जना प्रदेश सभा सदस्यले जम्मरकट्टेल नेतृत्वको बागमती प्रदेश सरकारको पक्षमा मतदान गरे भने नेपाली कांग्रेसका ३४ र नेमकिपाका ३ जना प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरे । यसैगरि १५ जना प्रदेश सदस्य तटस्थ बसेका थिए ।

आलोपालो मुख्यमन्त्री बन्ने सहमती भएपछि मात्र नेकपा (एस)का प्रदेश सभा सदस्यले नेकपा (माके)का नेता समेत रहेका मुख्यमन्त्री जम्मरकट्टेल नेतृत्वको सरकारलाई विश्वासको मत दिएको बताइएको छ ।

गत फाल्गुण २१ गते नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन टुटेर नेकपा (एमाले) र रास्वपा सहितको नयाँ सत्ता गठबन्धन बनेपछि बागमती प्रदेशदे सरकारबाट नेपाली कांग्रेस बाहिरियो । त्यहीकरण मुख्यमन्त्री जम्मरकट्टेलले आज बागमती प्रदेश सभाबाट विश्वासको मत लिनुभएको हो

२०७९ पुस २५ गते बागमती प्रदेशको मुख्यमन्त्री बनेका जम्मरकट्टेलले आज बागमती प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत लिनुभएको हो । उहाँले पहिलो पटक २०७९ माघ ३ गते बागमती प्रदेश सभाबाट विश्वासको मत लिनुभएको थियो । त्यसबेला ११० सदस्यीय बागमती प्रदेशका नेमकिपा बाहेक सबै दलका प्रदेश सभा सदस्यले मुख्यमन्त्री जम्मरकट्टेल नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थिए । केन्द्रमा नेकपा (एमाले) सहितको तत्कालीन सत्ता गठबन्धन भत्किएर नेपाली कांग्रेस सहितको नयाँ सत्ता गठबन्धन बनेपछि नेकपा (एमाले) र राप्रपा बागमती प्रदेश सरकारबाट बाहिरिए भने नेपाली कांग्रेस सो सरकारमा सहभागी भयो । त्यहीकारण जम्मरकट्टेल नेेतृत्वको सरकारले २०७९ चैत्र १० गते बागमती प्रदेश सभाबाट विश्वासको मत लिएको थियो । त्यसबेला उहाँलाई नेपाली कांग्रेस, नेकपा (माके) ,नेकपा (एस) र हाम्रो नेपाली पार्टीका बागमती प्रदेश सभा सदस्यले विश्वास मत दिएका थिए भने नेकपा (एमाले), राप्रपा र नेमकिपाका प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरेका थिए ।

Leave a Reply