भक्तपुर नगरपालिका-२, व्यासीमा रहेको बालाखु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को १७औं वार्षिक साधारण सभा २०८१ कार्तिक ३ गते शनिबार भक्तपुर बैक्वेट इतापाखेमा सम्पन्न भयो । साधारण सभाको जिल्ला सहकारी संघ लि.,भक्तपुरका अध्यक्ष धूर्वबहादुर रायमाझीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । सोही अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले बालाखु गणेश बचत तथा ऋण सहकारी लि.को साधारण सभा सफलताको शुभकामना ब्यक्त गर्दै,’बालाखु साकोस समुदायमा आधारित सहकारी संस्था हो , यसका सञ्चालकहरु निस्वार्थी छन्, शेयर सदस्यहरुले चिन्ता लिन पदैन’, भन्नुभयो ।
यसैगरी भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का कोषाध्यक्ष कान्छाभक्त घजुले ‘ भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले विभिन्न किसिमका तालिमको आयोजना गर्नुको साथै सहकारी ऐन नियम र सिद्धान्त अनुसार नचलेका सहकारी संघ संस्थाहरुलाई कारबाही गर्न आवाज उठाइरहेको छ’ ,भन्नुभयो ।
मित्र सहकारी संस्था ख्वप साकोसका अध्यक्ष राजकुमार लघुले ‘स्थानीय दाजुभाइ दिदीबहिनीहरुको नेतृत्व रहेको समुदायमा आधारित सहकारी संस्थामा बचत गरे बचत र भविष्य सुरक्षित हुन्छ’ भन्नुभयो ।
बालाखु साकोसका अध्यक्ष सीताराम सुवालको अध्यक्षतामा सम्पन्न साधारण सभामा नेफ्स्कूनकी प्रतिनिधि मन्दरा मिश्र, सो संस्थाका सल्लाहकार नयनसिह धामी , कानुनी सल्लाहकार अनिश सुवाल र बालमुकुण्ड सुवालले त्यस संस्थाको थप प्रगतिको कामना गर्नुभयो । साधारण सभामा बालाखु साकोसका सञ्चालक समितिका सचिव अनिल सुवाल र कोषाध्यक्ष राजेन्द्र सुवाल लगायतले संस्थाको गतिविधि बारे प्रकाश पानुभयो ।
साधारण सभामा उत्कृष्ट जीपीएका साथ एसईई ,प्लस टु, स्नातक र स्नाकोत्तर तह उत्तीर्ण गरेका उक्त संस्थाका शेयर सदस्यहरु तथा शेयर सदस्यहरुका छोराछोरीहरुलाई मायाकाो चिनो मयुरको झ्याल उपहार दिई सम्मान गरिएको थियो । साधारण सभामा उत्कृष्ट बचतकर्ता र ऋणकर्ताहरुलाई पनि सम्मान गरिएको थियो ।





