भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को साझेदारी कार्यक्रम अन्र्तगत जोखिममा आधारित साकोस सुपरीवेक्षण( Credit union Risk Based Supervision-CURBS) सम्बन्धी अभिमुखीकरण कार्यक्रम २०८१ चैत्र २२ गते शुक्रबार रोयल थाई हस्पिटालिटी, राधेराधेमा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का कोषाध्यक्ष कान्छाभक्त घजुले गर्नुभयो । सो अवसरमा उहाँले सहकारी संस्था स्तरीकरण कार्यक्रममा आवद्ध हुँदा संस्थालाई नीति नियम विपरीत जान दिदैन र संस्थाको वित्तीय पाटोको बारेमा सुक्ष्म विश्लेषण हुने विचार व्यक्त गर्नुभयो । उहाँले संस्थाको सञ्चालक समितिको नियमित बैठकमा मासिक रुपमा पल्र्स सहित वित्तीय अवस्था पेश गरी सोको बारेमा गहन छलफल गर्नुपर्ने बताउनुभयो । साथै नेपाल सरकारले जारी गरेको सहकारी ऐन र नेपाल राष्ट्र बैंकले जारी गरेको मापदण्डमा फरक फरक व्यवस्थाले सहकारी संस्था अन्यौलतामा रहेको बताउनुभयो ।
कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले यस संघले कब्र्स सम्बन्धी अभिमुखीकरण कार्यक्रम दोस्रो पटक आयोजना गरेको र कब्र्स, प्रोबेसन, एक्सेस जस्ता स्तरीकरण कार्यक्रमले संस्थाको स्तरोन्नति हुनुको साथै सदस्य, कर्मचारी र सञ्चालकको समेत सुरक्षण हुने धारणा व्यक्त गर्नुभयो । उहाँले हालै नेपाल राष्ट्र बैंकले जारी गरेको बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड, २०८१ मा भएका बचतको सीमा, जोखिम कोषको व्यवस्था लगायतका विषयमा जानकारी गराउनुभयो ।
यसैगरी नेफ्स्कूनका कार्यक्रम अधिकृत विदुर खड्काले साकोसमा हुने सम्भावित जोखिमको बारेमा प्रशिक्षण गर्नुहुँदै जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रमको बारेमा समेत प्रस्तुतीकरण गर्नुभयो । कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मा आवद्ध २२ वटा संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा उच्च तहका कर्मचारीहरुका साथै आयोजक संघका पदाधिकारी र कर्मचारी समेत गरी ३८ जनाको सहभागिता रहेको थियो । औपचारिक रुपमा कार्यक्रम सोही संघका अधिकृत कृष्णश्वरी ह्यौंमिखाले सञ्चालन गर्नुभयो ।



भक्तपुरमा नगरस्तरीय सहकारी दिवस मनाइयो ।

२०८१ चैत्र २० गते बुधबार ६८ औं राष्ट्रिय सहकारी दिवस भक्तपुर जिल्लामा चार वटै नगरमा एकै समयमा नगर प्रमुखहरुको प्रमुख अतिथ्यितामा नगरस्तरीय प्रभातफेरी कार्यक्रम सहित मनाइयो । सो संघको नगर सहकारी समन्वय उप-समिति समतेको समन्वयमा मध्यपुर, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाहरुको आयोजनामा प्रभातफेरी सम्पन्न भयो ।
भक्तपुर नगरपालिकामा सो संघको नगर सहकारी समन्वय उप-समितिको आयोजनामा जिल्लास्थित संघहरुको समन्वयमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले सहकारी मर्यादित भई समुदायकोे सुख दु:खको सारथी बन्न सके समुन्नत समाज निर्माणमा टेवा पुग्ने बताउनुभयो । सहकारी आफै्मा मर्यादित हुनुपर्नेमा सहकारीको मर्यादा विपरीत सञ्चालकको मनोमानीले विकृती बढेको उहाँले भन्नुभयो । सहकारी समुदायको हुनुपर्छ र समुदायका आर्थिक, सामाजिक र साँस्कृतीक विकासका लागि हुनुपर्ने जिकिर गर्दै भक्तपुर नगरपालिकामा सूचिकृत तथा दर्ता नभएका कुनै पनि सहकारीमा बचत नराख्नको लागि अनुरोध गर्दै आएको उहाँले बताउनुभयो । उहाँले नगर बासीको बचत सुरक्षा गर्ने नगरपालिको दायित्व भएकोले सहकारीमा समस्या आउन नदिन सुधारात्मक अनुगमनलाई जोड दिएको जानकारी दिनुभयो । देशमा युवा वर्ग बिदेशीने क्रम बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै सहकारीको माध्यमबाट युवा शक्तिलाई स्वदेशमै उत्पादन तथा उद्यम क्षेत्रमा लाग्न प्रेरित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर जल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुले यस बर्ष ६८ औं राष्ट्रिय सहकारी दिवस “मर्यादित सहकारी : समुन्नत समाज“ भन्ने नाराका साथ मनाइएको जानकारी दिनुभयो । सरकारले सहकारी अध्यादेश र नेपाल राष्ट्र बैंकको निर्देशन जारी गर्दै मर्यादित बनाउन खाजेको भएतापनि तत्कालीन सहकारी समस्यामा परेका सदस्यहरुको बचत सुरक्षा भन्दा पनि सहकारी ठगहरुलाई पृष्ठ पोषण गरेको बताउनुभयो । उहाँले सहकारी सिद्धान्त विपरितका ऐन कानुनको संघले निरन्तर विरोध गरेकै कारण सरकारले प्रतिस्थापन विधेयकमार्फत संशोधन ऐन शंसोधन गरेको विचार व्यक्त गर्नुभयो ।
त्यस अवसरमा सोही संघका सचिव एवं नगर सहकारी समन्वय उप-समितिका संयोजक जगनाथ प्रजापतिले स्वागत गर्दै सहकारी अभियान र नियमन निकाय फरक भएकोले सहकारी अभियानले गर्नुपर्ने काम अभियानबाट नै गर्न/गराउन नियमन निकायले साथ सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले नियमक निकायले सहकारीको प्रभावकारी अनुगमन गरी निरन्तर शिक्षा तालिम दिनुपर्नेऔंल्याउनुभयो । उहाँले यस संघमा आबद्ध सदस्य संस्थाहरुमध्ये यस बर्ष जिल्ला स्तरीय पुरस्कार युवा बचत तथा ऋण सहकारी संघ लि., भक्तपुर नगरपालिकामा लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., मध्यपुर थिमि नगरपालिकामा बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि., सुर्यविनायक नगरपालिकामा सुर्वणपुर बचत तथा ऋण सहकारी संस्था लि. र चाँगुनारायण नगरपालिकामा देवी महिला बचत तथा ऋण सहकारी संस्था लि.लाई सहकारी व्यवसाय पुरस्कार संघको स्थापना दिवसमा पुरस्कृत गर्ने घोषण गर्नुभयो ।
प्रभातफेरी कार्यक्रमको सञ्चालन त्यसै उपसमितिका सदस्य राजन जतिले गर्नु भएको थियो । प्रभातफेरी कार्यक्रममा ६७ वटा सहकारी संस्थाहरुबाट २००० जना भन्दा बढी सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।





