भक्तपुरमा सहकारी दर्ता अभिलेखीकरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सदस्य तथा सहकारी विज्ञ डा.रमेश चौलागाईँको प्रमुख आतिथ्य र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा भक्तपुर बैंक्वेट भक्तपुरमा २०८२ मंसिर २३ गते मंगलबार सम्पन्न भयो । सो कार्यक्रममा प्रमुख अतिथि डा. चौलागाईले सहकारी संस्थाको नियमन तथा वर्गीकरण गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता गर्नुपर्ने बताउनुभयो । उहाँले ‘भविष्यमा सहकारीको विकृति न्यूनिकरण गरेर जोखिम घटाउनका लागि स्थानीय, प्रदेश र संघीय तहमा दर्ता रहेका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सबै सहकारी संस्थाहरु राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता गरेर प्रमाण-पत्र लिनुपर्छ’, भन्नुभयो । उहाँले सहकारी सदस्यको ह‍ो, यसमा कसैको शंका नरहेको तर व्यवहारमा सहकारी सदस्यको हुन नसक्दा सहकारीमा समस्या आएको बताउँदैं भविष्यमा त्यस्ता समस्या नदोहोरियोस् भन्ने हेतुले राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएको बताउनुभयो । उहाँले सहकारी संघ र संस्था फरक रहेकोले संघको वित्तीय कारोबारलाई व्यवस्थित गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।
यसैगरी कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष हरिकृष्ण बल्लले सहकारी राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता नभई कर्जा सूचना केन्द्रमा आबद्धता नहुने साथै सहकारीले राज्यबाट प्राप्त हुने अन्य सुविधाबाट समेत विमुख हुनुपर्ने अवस्था आउन सक्ने भएकोले समयमै सहकारी राष्टिय सहकारी नियमन प्राधिकरणमा दर्ता हुनुपर्ने बताउनुभयो । उहाँले प्रारम्भिक संस्थाले संघमा राखेको बचत तरलता गणना नहुने नियमकीय मापदण्डले प्रारम्भिक संस्थाहरुको बचत शुन्य प्रतिशतमै बैंक वित्तीय संस्थामा राख्न बाध्य पारेको जानकारी दिनुभयो । उहाँले सदस्य संस्थाको वित्तीय आवश्यकता पुरा गर्न काुनन बमोजिम संघले वित्तीय कारोबार गर्न वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।
यसैगरी सो संघका निवर्तमान अध्यक्ष कृष्णगोविन्द लाखाजुले राष्ट्रिय सहकारी नियमन प्राधिकरण सहकारी अभियानले नै मागेको हो भन्दै जसले माग्यो उसलाई सिध्याउने गरी संघमा रहेको रकमलाई तरलता गणना नहुने व्यवस्था संशोधन गर्नुपर्ने माग राख्नुभयो । प्राधिकरणले छुट्टै मापदण्ड बनाई संघलाई समेत वर्गिकरण गरी सहयोगी निकायको रुपमा जीवन्त राख्नुपर्ने उहाँको भनाइ थियो ।

सोही संघका सचिव काञ्छाभक्त घजुले सञ्चालन गरेको कार्यक्रममा त्यसै संघकी कोषाध्यक्ष कृष्णश्वरी मचामसीले स्वागत मन्तव्य व्यक्त गर्दै बहु नियमनकारी निकायको निर्देशन र बहु दर्ता तथा नवीकरण जस्ता कानूनी व्यवस्थाले प्रारम्भिक संस्थाहरुमा अन्यौलता बढेको बताउनुभयो । उहाँले एकद्वार प्रणलीबाट नियमन तथा अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रस्तुतीकरण गर्दै उक्त संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरण गर्न आवश्यक पर्ने कागजात सहितको जानकारी गर्नुभयो । उहाँले प्राधिकरणमा समयमै दर्ता गर्न अनुरोध गर्दै संस्थाहरुलाई आवश्यक सहजीकरण गर्न यस संघ सदैब तयार रहेको बताउनुभयो ।

सो कार्यक्रममा आबद्ध सदस्यमध्ये १७२ वटा संस्थाबाट २५३ जनाको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *