भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आय‍ोजनामा आन्तरिक लेखापरीक्षण तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उप-समितिको आयोजनामा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि, च्यामासिङ्, भक्तपुरको तालिम हलमा यही फाल्गुण २७ र २८ गते दुई दिवसीय आन्तरिक लेखापरीक्षण तालिम सम्पन्न भयो । सो अवसरमा उक्त संघका सचिव जगनाथ प्रजापतिले सहकारीमा समस्या आन्तरिक र बाह्य कारणहरुले देखापरेको बताउनुभयो । उहाँले सहकारीमा लेखा सुपरीवेक्षण समितिले आफ्नो भूमिकाबाट बिमुख हुँदा समयमै सहकारीको आन्तरिक समस्या समाधान हुन नसकेर सहकारीमा समस्या बल्झेको विचार व्यक्त गर्नुभयो । उहाँले यस विषम परिस्थितिमा सहकारीका लेखा सुपरीवेक्षण समितिलाई सबल र सक्षम बनाउन यस संघले आन्तरिक लेखापरीक्षण तालिमको आयोजना गरेको बताउनुभयो । सहकारी संस्थाहरुले सहकारी ऐन कानुन, विधि र सुशासनमा सञ्चालन गरेमा समस्या नआउने ठहर गर्दै उहाँले लेखा सुपरीवेक्षण समितिले आफ्नो महत्वपुर्ण भूमिका निर्वाह गरी समयमै सञ्चालक, व्यवस्थापन र सदस्यलाई सचेत गराउनु पर्नेमा जोड दिनुभयो ।

उक्त अवसरमा सोही संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीमा देखिएको हालको समस्या सहकारीका सञ्चालक, लेखा सुपरीवेक्षण समिति, व्यवस्थापन र सदस्यलाई सहकारी शिक्षाको अभावबाट सिर्जित भएको बताउनुभयो । उहाँले सहकारीका समिति, उप-समिति, व्यवस्थापन र सदस्यलाई निरन्तर सहकारी शिक्षा तथा तालिम प्रदान गरी आ-आफ्नो भूमिका निभाउन प्रोत्साहन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले तालिममा सिकेका कुरा सहकर्मीलाई पनि सिकाई समूहगत र संस्थागत रुपमा व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

बागमती प्रोस्कूनका कार्यक्रम अधिकृत नवराज घोरासैनीले तालिममा सहजिकरण गर्दै सहकारीमा लेखा सुपरीवेक्षण समितिको भूमिका धेरै हुने भएकोले निरन्तर तालिम लिई अद्यावधिक हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले आन्तरिक लेखा परीक्षणका परिचय, अवधारणा, ज्ञान, सीप, क्षेत्र, चरण, प्रतिवेदन, कानुनी व्यवस्था आदिका विषयमा सहजीकरण गर्नुभयो ।तालिमको समापन कार्यक्रम भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का कर्मचारी रोकेश जोशीले सञ्चालन गर्नुभयो । तालिममा सहभागीहरुले धेरै कुराहरु सिक्न पाएँकोमा खुशी व्यक्त गर्दै तालिमबाट लेखा सुपरीवेक्षण समितिको भूमिका बोध भएको र यस्ता तालिमहरु निरन्तर यो संघले आयोजना गर्न शुभकामना व्यक्त गर्नुभयो । तालिममा उक्त संघमा आबद्ध सदस्य संस्थाहरु मध्येबाट २८ जना लेखा सुपरीवेक्षण समितिका संयोजक तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

उक्त अवसरमन तालिममा सहभागीहरुलाई प्रमाण-पत्र प्रदान गरिएको थियो ।

Leave a Reply