भक्तपुर जिल्ला बचत संघको आयोजनामा महिला नेतृत्व तथा उद्यमशीलता उत्प्रेरणा तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को महिला सशक्तिकरण उप-समितिको आयोजनामा एक दिवसीय महिला नेतृत्व तथा उद्यमशीलता उत्प्रेरणा तालिम होटल सिटीगाँउ, भक्तपुरमा २०८० चैत्र १७ गते शनिबार सम्पन्न भयो । सो अवसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले

सिलाई कटाई, बुनाई, व्युटिसियन जस्ता सीपमूलक तालिममा मात्र सिमित रहेर अहिलेको प्रतिस्पर्धात्मक समयमा महिलाहरु अगाडि बढ्न नसक्ने हुँदा क्षमता अभिवृद्धिका तालिमहरु पनि आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारीमा महिला सदस्य र महिला कर्मचारी तुलनात्मक रुपमा पुरुषको भन्दा बढी सहभागिता रहेतापनि पुरुष नेतृत्वकै हावी भइरहेको अवस्थालाई चिर्न पनि महिला नेतृत्वको आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो । सहकारीको समस्या सामाधान गर्न हाल राज्यले नयाँ सहकारी दर्ता बन्द गरेको र प्रभावकारी नियमन गर्न दोस्रो तहको नियमक निकाय गठन गर्न लागेको उहाँको भनाइ थियो ।
तालिममा उक्त संघका सञ्चालक एवं उप-समितिका संयोजक कृष्णश्वरी मचामसीले महिला दिदीबहिनीहरु आफ्नो खुट्टामा आफै उभिन सक्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँलें महिलाहरुलाई नेतृत्व र उद्यममा प्रेरित गर्न तालिमको आयोजना गरेको बताउनुभयो ।
मेटिभेसनल स्पीकर डा.ताराप्रसाद गिरीले हामीसँग जे छ ,त्यसमा सन्तुष्ट हुनुपर्ने र सानो सानो कूराहरुमा ध्यान दिनुपर्ने कुरा बताउनुभयो । उहाँले समाज बदलिन आफूलाई आफैले माया गर्नुपर्ने र आफुले आफूलाई नै पहिला बदलिनुपर्ने खाँचो औंल्याउनुभयो । उहाँले पुरानो सोच हटाई नयाँ सोचमा बढ्ल्नुपर्छ- त्यसको लागि सिकाईलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । यदि हामीले राम्ररी सिक्यौं भने यसले जुनसुकै ठाँउमा सहयोग हुने र आफ्नो लक्ष्य प्राप्त हुने उहाँको भनाइ थियो । उहाँले आर्दश व्यक्ति बन्न विभिन्न तरिका र कुराहरु समय अनुसार हार नखाई बाधा, अबरोधका चणहरु पार गरेर जीवनलाई सही ढंगले अगाडि बढाउनुपर्ने बताउनुभयो ।
तालिममा सहजकर्ता सुन्दरश्याम घिमिरेले सीप विकास तालिम र उद्यमशीलता तालिम बीच भिन्नता रहेको भन्दै उद्योगको महत्व, जोखिम र समस्याहरुबारेमा विचार व्यक्त गर्नुभयो । उहाँले सीप सिकेका सबै उद्यमी बन्न नसक्ने भएकोले उद्यमशीलताको तालिम आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारीका सदस्यलाई उद्यमशीलतामा उत्प्रेरित गर्न यस्तो तालिम कार्यक्रमहरु निरन्तर राख्नुपने खाँचो औंल्याउनुभयो ।
त्यस अवसरमा सोही संघकी महिला सशक्तिकरण उप-समिति सदस्य सूवर्णप्रभा गुरागाईँले धन्यवाद मन्तव्य व्यक्त गर्दै अझ अरु तालिलमा महिलाहरुलाई जोड दिने बताउनुभयो । उहाँले ‘विश्व नै महिलाहरुले आँधी ठाउँ ओगतेकोले (ओगटेकोले) महिलाहरु जबसम्म सशक्तिकरण हुदैन, तबसम्म देश विकास हुदैन’, भन्नुभयो । आफु भित्र लूकेको प्रतिभालाई उजागर गर्न यस उत्प्रेरणात्मक तालिमले सहयोग गर्ने उहाँको भनाइ थियो । त्यसै उप-समितिका सदस्य निर्जला ढुंगेलले सञ्चालन गर्नुभएको उक्त तालिममा ४४ जनाको सहभागिता रहेको थियो । उक्त अवसरमा तालिममा सहभागीहरुलाई प्रमाण-पत्र प्रदान गरिएको थियो ।

Leave a Reply