भक्तपुर जिल्ला बचत संघको आयोजनामा एनएफआरएस (NFRS) तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उप-समितिको आयोजनामा केभी लञ्च, कमलविनायक, भक्तपुरमा २०८१ असार १४ र १५ गते दुई दिवसीय नेपाल वित्तीय प्रतिवेदनमान (Nepal Financial Reporting Standard) तालिम सम्पन्न भयो । उक्त तालिमको समापन समारोहलाई सम्बोधन गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष

कृष्ण गोविन्द लाखाजुले सहकारी ऐन, २०७४ मा नै प्रचलित कानून बमोजिमको मापदण्ड पालना गर्नुपर्ने व्यवस्था भएकोले रु.पचास करोड भन्दा बढी निक्षेप संकलन गर्ने सहकारी संस्थाले अनिवार्य नेपाल वित्तीय प्रतिवेदनमान (NFRS) बमोजिमको ढाँचामा लेखापरीक्षण गराउनुपर्ने बताउनुभयो । उहाँले वित्तीय कारोबार थप यथार्थपरक र अझ बढी स्पष्ट पार्न अन्तराष्ट्रियस्तरको प्रतिवेदन ढाँचा एनएफआरएस (NFRS)ले गर्ने भएकोले सहकारी संस्थाको जोखिमलाई न्यूनिकरण गरी दिगो सहकारी संस्था विकासमा समेत टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।
त्यसै अवसरमा सोही संघको संस्थागत विकास उप-समितिका सदस्य विकुलाल सुवालले एनएफआरएस (NFRS)मा प्रतिवेदन बनाउने काम व्यवस्थापनको भएकोले व्यवस्थापनलाई दक्षता अभिबृद्धि गर्न तालिम आयोजना गरेको बताउनुभयो । उहाँले सहकारी संस्थाका व्यवस्थापन प्रमुख र लेखा प्रमुखलाई आफ्नो संस्थाको लेखापरीक्षण प्रतिवेदनलाई एनएफआरएस (NFRS) ढाँचामा परिवर्तन गर्न सकोस् भनी दुई दिनको प्रयोगात्मक तालिम सञ्चालन गरेको विचार व्यक्त गर्नुभयो ।
सोही अवसरमा उक्त संघका व्यवस्थापक बालकृष्ण धोजुले यो तालिमलाई व्यवहारिक बनाउन नमूना वित्तीय प्रतिवेदनमा दुई दिन प्रयोगात्मक सिकाई गरी सहकारी संघ/ संस्थाले आफ्नो वित्तीय विवरण आफै एनएफआरएस (NFRS) ढाँचामा परिणत गरी पुन: एक दिन सो परिवर्तन गरेको प्रतिवेदनका बारेमा प्रशिक्षण हुने बताउनुभयो । उहाँले तालिममा सिकेका कुराहरु आफू कार्यरत संस्थामा व्यवहारिक प्रयोग गर्नुको साथै अरुलाई पनि सिकाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
तालिमका सहजकर्ता आर बराल एण्ड एसोसिएट्सका संजन श्रेष्ठ र सरोज शर्मा तथा एच पहाडी एण्ड एसोसिएट्सका सीए(CA) हुकुम पहाडीले एनएफआरएस (NFRS) ढाँचाको सहजीकरण गर्दै एनएफआरएस (NFRS) को ढाँचा विनाको लेखापरीक्षण प्रतिवेदन र एनएफआरएस (NFRS) अनुसारको लेखापरीक्षणमा हुने भिन्नता अन्तर्गत हुने स्थीर सम्पत्तिलाई पहिचान गर्ने विधि तथा ह्रास प्रक्रिया, लगानी सम्पत्ति, पट्टा तथा भाडा, सहुलियत दरमा प्रदान गरिएको कर्जा, कर्जा सम्बन्धी आम्दानी, कर्मचारी सुविधा, स्थागन लगायतका विषयमा प्रयोगात्माक प्रशिक्षण दिनुभयो । तालिमको समापन समारोहको सञ्चालन त्यसै संघकी वित्त तथा प्रशासन अधिकृत कृष्णश्वरी ह्यौमिंखाले गर्नुभयो ।

उक्त तालिममा सहभागीहरुले धेरै कुराहरु सिक्न पाएकोमा खुशी व्यक्त गर्दै तालिमबाट एनएफआरएस (NFRS) ढाँचामा प्रतिवेदन परिवर्तन गर्ने बारे प्रयोगात्मक ज्ञान हासिल भएको बताउनुभयो । तालिममा सो संघ र उक्त संघमा आबद्ध सदस्य संस्थाका व्यवस्थापक र लेखा अधिकृत गरी २० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *