भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको अन्तर-लगानी तथा वित्तीय सेवा प्रवर्द्धन उप-समितिको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को प्राविधिक सहयोगमा दुई दिवसीय ऋण व्यवस्थापन तालिम २०८१ माघ २८ गते होटेल सिटिगाउँं, भक्तपुरमा सम्पन्न भयो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रोक्स्कुनका सञ्चालक समेत रहेका भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष
कृष्ण गोविन्द लाखाजुले सहकारीको अन्तराष्ट्रिय सात सिद्धान्तको बारेमा प्रकाश पार्दै सरकारी सम्बन्धी अध्यादेश अन्तराष्ट्रिय सहकारी सिद्धान्त प्रतिकूल हुने गरी जारी भएको भन्दै उक्त अध्यादेशमा भएको सामुदायिक सहकारीलाई प्रतिकूल असर गर्ने व्यवस्थाको विरोध गर्नुभयो । सदस्यको बचत सुरक्षा र सदस्य केन्द्रित सामुदायिक सहकारी संस्थाको हितमा अध्यादेश जारी हुनु पर्नेमा उल्टै संसद नै छलेर सहकारी ठगलार्ई पुष्ठपोषण गरेको उहाँको भनाई थियो । उहाँले सहकारी समुदायको भएकोले सामूदायिक सहकारी संस्थालाई प्रोत्साहन हुने गरी बचतको सीमा कायम गर्नु पर्ने बताउनुभयो ।
यसैगरी सोही संघका कोषाध्यक्ष एवं अन्तर-लगानी तथा वित्तीय सेवा प्रवर्द्धन उप-समितिका संयोजक काञ्छाभक्त घजुले बचत तथा ऋण सहकारी संस्थाको मुख्य काम सदस्यबाट बचत स्वीकार्ने र ऋण लगानी गर्नु रहको बताउनुभयो । ऋण लगानी गरेका रकम समयमै सावाँ व्याज फिर्ता भएन भने संस्था सञ्चालनमा समस्या भई सदस्यको बचत फिर्तामै समस्या हुने हुदाँ संस्थाले ऋण लगानीमा विशेष ध्यान पु-याउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले तालिमले ऋण लगानीको प्रभावकारी व्यवस्थापन र जोखिम न्यूनिकरणका असल अभ्यासका सिकाईबाट संस्थामा सुरक्षित ऋण लगानी गर्नमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।
यसतै सो संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी संस्थामा बचत सँगै ऋण लगानी सुरक्षित हुनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले सहकारीमा सदस्यको विश्वास अडेकाले सदस्यको विश्वास जित्ने ढंगबाट सुरक्षित ऋण लगानी तथा असुलीमा ध्यान दिनुपर्ने बताउनुभयो । सरकारले जारी गरेको सहकारी सम्बन्धी अध्यादेश र नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा मापदण्ड मस्यौदामा व्यवहारिक रुपमा संशोधन गर्नुपर्ने कुराहरु रहेको र उक्त कुराहरुको संशोधन गर्न गराउन बहस पैरवी तथा विरोध गर्न सकिन्छ तर कानुनको पालना गर्दिन भन्न नमिल्ने उहाँको भनाई थियो । सहकारी सम्बन्धी अध्यादेशमा सहकारीको ऋण सुरक्षित गर्न कर्जा सूचना केन्द्र र कर्जा सुरक्षण कोषमा आबद्ध हुन सकिने कानुनी व्यवस्था हुनु सकारात्मक रहेको उहाँको थप भनाई थियो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का तालिम अधिकृत रविन्द्र श्रेष्ठले तालिममा सहजीकरण गर्नु भएको थियो । तालिममा आयोजक संघका सदस्य संस्थाहरुबाट २० जनाको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रमको सञ्चालन संघका अन्तर-लगानी तथा वित्तीय सेवा प्रवर्द्धन उप-समितिका सदस्य राजकुमार लघुले गर्नुभएको थियो । तालिममा सहभागीहरुलाई प्रमाण-पत्र प्रदान गरिएको थियो ।





