भक्तपुर जिल्ला बचत संघको २१औं स्थापना दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २१ औं स्थापना दिवसको उपलक्ष्यमा “जारी सहकारी अध्यादेश, निर्देशन तथा मापदण्ड, बचत तथा ऋण सहकारीको आगामी मार्गचित्र” विषयक अन्तरक्रिया कार्यक्रम रोयल थाइ हस्पिटालिटी, राधेराधे भक्तपुरमा २०७२ बैशाख २१ गते सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेफस्कूनका अध्यक्ष

चन्द्रप्रसाद ढकालले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी संस्थाको नियमन तथा अनुगमनका लागि ९४४ वटा निकाय हुँदा समेत नियामन नहुँदा सहकारीमा विकृती देखिएको भन्दै प्रभावकारी नियमन तथा अनुगमनको लागि दोस्रो तहको नियमक निकाय आवश्यक भएरै अभियानबाट माग भएको स्पष्ट पार्नु भयो । उहाँले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले निर्देशन तथा मापदण्ड जारी गरी हालको कानुनी अस्पष्टता तथा अन्यौलता हट्नेमा विश्वास व्यक्त गर्नुभयो । अभियानका सबैले आफ्नो कर्तव्य र भूमिका निभाउनुपर्नेमा जोड दिदै समस्याको समाधानमा लाग्नुपर्नेमा समस्या मात्र देखाएर बस्न नहुने उहाँको भनाइ थियो । सहकारीमा गलत गर्ने र सही गर्नेको पहिचान विना सहकारीको समस्या समाधान नहुने उहाँले थप भनाइ थियो ।
त्यस अवसरमा उक्त कार्यक्रमको अध्यक्षता गरेका भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजूले सहकारी पीडितलाई बचत फिर्ताको सुनिश्चिता हुने गरी ऐन संशोधन हुन नसक्दा सहकारी ठगहरुलाई मलजल पुगेको बताउनुभयो । सहकारीमा बदमास गर्ने सहकारीलाई कारवाही गर्न सक्ने कानुनको माग गरेकोमा माग गर्ने सहकारीलाई नै सिध्याउने ढंगबाट ऐन, निर्देशन र मापदण्ड जारी गर्नु गलत भएको उहाँको भनाइ थियो । उहाँले सहकारी अभियान एकजुट भई आन्तरिक रुपमा समुदाय तथा सदस्य केन्द्रीत सहकारी मैत्री कानुन संशोधनका लागि पहल भइरहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उद्धव सापकोटाले सहकारी संघ संस्था स्तरीकरण कार्यक्रममा भाग लिई संघ संस्थाको स्तरीकरण गर्नुपर्ने बताउनुभयो । बागमती प्रोस्कूनले पहिलोचोटी संघहरुको स्तरीकरण कार्यक्रम सञ्चालन गरी संघहरुको स्तरीकरणबाट प्रारम्भिक संस्थाहरुले गुणस्तरीय सेवा सुविधाको सुनिश्चितता हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का संस्थापक अध्यक्ष राजेन्द्र दुमरूले सो संघ स्थापनाको बारेमा चर्चा गर्दै सहकारीमा समयसँगै परिवर्तीत सहकारी नियम कानुन बमोजिम कार्य शैली परिवर्तन गर्नुको विकल्प नभएको बताउनुभयो । उहाँले ‘सहकारीमा विकृतीहरुको निराकरणका लागि संघ स्थापनाकालदेखि नै सचेत गर्दै आएतापनि राज्यले ग्रहण नगर्दा हाल सहकारीमा विषम समस्या सिर्जना भएको हो’, भन्नुभयो ।
कार्यक्रममा सोही संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य व्यक्त गर्दै सहकारी पीडितहरुको पक्ष भन्दा पनि सहकारी ठगहरुको संरक्षणमा ऐनकानुनले बढी प्रशय पाएको बताउनुभयो । उहाँले सहकारीमा कानुनी जटिलताहरु थप्दै सहकारी अभियानलाई कमजोर पार्ने कामहरु भइरहेकोमा दु:ख व्यक्त गर्दै समस्याको मुल जरासम्म पुगी सामाधानको उपायमा काम कारवाही अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो । सदस्य संस्थाहरुसँग अन्तरक्रिया सहित सम्पन्न सो कार्यक्रमको सञ्चालन त्यसै संघका सचिव जगनाथ प्रजापतीले गर्नु भएको थियो ।
कार्यक्रममा बागमती प्रोस्कुनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले जारी सहकारी विद्येयक, निर्देशन तथा मापदण्ड, बचत तथा ऋण सहकारीको आगामी मार्गचित्र विषयमा कार्यपत्र प्रस्तुत गर्नु हुँदै हालको परिस्थितिमा ऐन नियम तथा कानुनको परिपालनाको लागि तयारी अवस्थामा रहनु पर्ने बताउनुभयो । कार्यक्रममा उक्त संघ स्थापनाको पृष्ठभुमि, संघले खेलेको भुमिका, संघमा रहेका सदस्य संस्थाको आर्थिक, सुशासन, जोखिमका अवस्था र समुदायमा खेलेको भुमिका सहितको बृत्तचित्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा संघको सदस्य संस्थाहरुमध्ये सहकारी अभियानमा अनुकरणीय कार्य गर्ने उत्कृष्ट सहकारी व्यवसाय पुरस्कृत गर्ने उद्देश्यले संघको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार कार्यविधि, २०७८ बमोजिम जिल्लास्तरीय सहकारी व्यवसाय पुरस्कार श्री युवा बचत तथा ऋण सहकारी संस्था लि., चाँगुनारायण नगरपालिका ६, चाँगुनारायण नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार देवी महिला बचत तथा ऋण सहकारी संस्था लि.,चाँगुनारायण नगरपालिका- ९, भक्तपुर नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुर नगरपालिका, २ इताछें, सूर्यविनायक नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार सुर्वर्णपुर बचत तथा ऋण सहकारी संस्था लि., सूर्यविनायक नगरपालिका, ५ र मध्यपुरथिमि नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार श्री बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि., मध्यपुरथिमि नगरपालिका- ४ लाई पुरस्कृत गरियो । साथै ६८ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित भक्तपुर नगरस्तरीय प्रभातफेरी कार्यक्रममा उत्कृष्ट सहभागिताको पुरस्कार जित्न सफल भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुर नगरपालिका, ९,च्याम्हासिंह, बालाखु गणेश बचत तथा ऋण सहकारी संस्था लि.भक्तपुर नगरपालिका, २ र लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुर नगरपालिका, २, लाई पुरस्कार तथा सम्मान-पत्र समेत वितरण गरिएको थियो । सो कार्यक्रममा उक्त संघका सदस्य संस्थाहरुबाट २०५ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *