भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको अर्ध-वार्षिक समीक्षा सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को अर्ध-वार्षिक समीक्षा २०८२ माघ १७ गते शनिबार रोयल थाई हस्पिटालिटी ,राधेराधेमा सम्पन्न भयो ।

उक्त अवसरमा मन्तव्य व्यक्त गर्दै सोही संघका अध्यक्ष हरिकृष्ण बल्लले यस संघको अर्ध-वार्षिक समीक्षाले संघको कार्य प्रगतिको अवस्थाबारे बोध हुने र कमजोरीलाई सुधार गरेर अगाडि बढ्न सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सहकारीमा बहु नियामकबाट जारी बहु निर्देशनले सहकारी संस्थाहरु अन्यौलमा रहेको बताउनुभयो । उहाँले ‘नियामकले नियमन तथा निरीक्षण गर्नु स्वभाविक हो तर नियमनको नाममा नियोजन गर्ने निर्देशनप्रति हाम्रो यस संघको आपत्ति छ’, उहाँले भन्नुभयो । सहकारी संस्थाको सञ्चालन गतिविधिलाई ध्यान नै नदिई संघमा रहेको तरलता गणना नहुने, खोलिएका शाखाहरु बन्द गर्नुपर्ने जस्ता जारी निर्देशनले सहकारी संस्थाको सञ्चालन प्रक्रियालाई नै विथोल्ने तथा कमजोर बनाउने उहाँको भनाइ थियो । सहकारीलाई एकद्वार प्रणालीबाट मात्र नियमन गर्नु पर्नेमा जोड दिदैं उहाँले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले दर्ता अभिलेखिकरण गर्ने समय अवधि २०८२ फागुन ११ गतेसम्म थप गरेकाले दर्ता हुन बाँकी संघमा आबद्ध सदस्य संस्थाहरुलाई समयमै दर्ता हुन अनुरोध गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त सो संघका उपाध्यक्ष जगनाथ प्रजापतिले यस संघले आ.व. २०८२/०८३ को वार्षिक कार्यक्रम तथा बजेटको कार्यान्वयनको समीक्षा गर्न अर्ध-वार्षिक समीक्षा कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

यसैगरी त्यसै संघका सचिव कान्छाभक्त घजुले अर्ध-वार्षिक समीक्षामा संघको पुष मसान्तसम्मको कार्यक्रम प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले संघका सदस्य संस्थालाई निरन्तर शिक्षा तथा तालिम अन्तर्गत संस्थाको संस्थागत, सञ्चालक र कर्मचारीको क्षमता अभिवृद्धि हुने तालिमलाई जोड दिएको बताउनुभयो । हालसम्म यस संघका २०३ सदस्यमध्ये १९५ वटा संस्थाको साधारणसभा भएको र ८ वटा संस्थाको साधारणसभा गर्न बाँकी रहेको उहाँले बताउनुभयो । संघले गरेको समन्वय तथा पहलकदमी भूमिका बारेमा पनि उहाँले जानकारी दिनुभयो । सो संघले हालसम्म १२ वटा संस्थाको अनुगमन गरेकोे उहाँले जानकारी गराउनुभयो ।
यस्तैगरी उक्त संघकी कोषाध्यक्ष कृष्णश्वरी मचामसीले अर्ध-वार्षिक समीक्षामा संघको वासलात तीन अर्ब दश करोड रुपैया पुगेको जानकारी दिनुभयो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन अनुसार संघले कारोबारलाई खुम्चाउनुपर्ने बाध्यात्मक परिस्थिति अनुसार य‍स संघले कारोबार घटाउने लक्ष्य राखेएको र सोही अनुसार २०८२ पुष मसान्तसम्ममा ३.४१ प्रतिशतले घटाउन सफल भएको बताउनुभयो । उहाँले हाल ऋण लगानीको वातावरण नहुँदा सहकारी संघ संस्थामा अत्याधिक तरलता बढेकोले तरलताको व्यवस्थापनमा सकस परेको जानकारी दिनुभयो ।

यस्तैगरी सोही संघका लेखा सुपरिवेक्षण समिति संयोजक दामोदर न्यौपानेले संघको अर्ध-वार्षिक प्रगति सन्तोषजनक रहेको बताउनुभयो
त्यस्तै उक्त संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी ऐन, २०७४ ले दिएको अधिकारको प्रयोग गर्दै बचत तथा ऋण कारोबार गर्ने सहकारी संघहरुलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखिकरण गर्न पाउनुपर्ने बताउनुभयो । बचत तथा ऋण सहकारी संघहरुको कारोबारको व्यवस्थापन मापदण्ड ल्याई नियमन गर्नुपर्नेमा निर्मुल गर्ने खालका केही निर्देशनले संघको अस्तित्वमाथि नै प्रश्न उठाएको उहाँको भनाइ थियो । उहाँले सहकारी ऐन, नियम र निर्देशन अनुसार संघको कारोबारलाई व्यवस्थित गर्दै लगेको तर निर्धक्क कारोबार गर्न पाउने वातावरण बन्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

सो अर्ध-वार्षिक समीक्षामा उक्त संघका समिति र उप-समितिहरुबाट ३४ जना र कर्मचारीहरु ९ जनाको सहभागििता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *