मध्यपुर थिमि नगरपालिकाका उप-प्रमुख विजयकृष्ण श्रेष्ठले गत वर्ष सहकारी ऐन जारी गरेको मध्यपुर थिमि नगरपालिकाले सहकारी अभियान नै प्रभावित हुने गरी देखिएको विकृति र समस्या सम्बोधनका लागि आफनो सहकारी नियमावलीको अन्तिम प्रारुप तयार भइरहेको बताउनुभयो । २०८० कार्तिक २ गते सम्पन्न भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधर चोकमा रहेको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लि.को १६औँ वार्षिक साधारण सभामा मन्तव्य व्यक्त गर्दै उप-प्रमुख श्रेष्ठले ‘पछिल्लो समय सहकारी अभियानलाई समेत प्रभावित हुनेगरी समस्याहरु देखिन थालेको छ , यी यावत समस्यालाई सम्बोधन गर्न मध्यपुर थिमि नगरपालिकाले सहकारीको पूँजी संरक्षित कोष, न्यायाधीकरण र स्थिरीकरण कोषको व्यवस्था गरेर समस्यामा रहेका समुदायप्रति उत्तरदायी रहेका सहकारी संस्थालाई सुधार गर्ने मौका दिनुपर्छ’, भन्नुभयो ।
साधारण सभामा शुभकामना मन्तब्य व्यक्त गर्दै मध्यपुर थिमि नगरपालिकाका भूतपूर्व प्रमुख मदनकृष्ण श्रेष्ठले रुस र युक्रेन तथा इजरायल र प्यालेस्टाइनी हमास बीचको युद्धको संसारभर प्रभाव रहेकोले नेपालमा समेत यसको प्रभावले वित्तीय सन्तुलनमा समस्या भएको बताउनुभयो । उहाँले स-साना पूँजीलाई एकीकरण गरी त्यसलाई सहि मानेमा चलायमान बनाउन आह्वान गर्नुभयो ।
साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै मध्यपुर थिमि नगरपालिका वडा नं. ८ का वडाध्यक्ष रमेश थापाले स्थानीयस्तरमा सञ्चालित सहकारीहरुमा मात्र बचत गर्न सम्पूर्ण शेयर सदस्यहरुलाई आह्वान गर्नुभयो । स-साना पूँजीलाई चलायमान गर्न सहकारी संस्था काफी भएको बताउँदै उहाँले वार्षिक रुपमा साधारणसभा गर्ने, हिसाब किताबलाई पारदर्शी ढंगले प्रस्तुत गर्ने तथा सामाजिक उत्तरदायित्व बहन गर्ने संस्थालाई विश्वास गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
सोही संस्थाका अध्यक्ष कृष्णकाजी मानन्धरको अध्यक्षतामा सम्पन्न साधारण सभामा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का लेखा सुपरीवेक्षण समिति संंयोजक बालमुकुन्द उपाध्याय , मध्यपुर थिमि नगरपालिकाका सहकारी शाखाका प्रमुख अभयन्द्र श्रेष्ठ, सिवा सायमी खलःका अध्यक्ष मनोजलाल मानन्धर र विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुले सो संस्थाले गरेको प्रगतिप्रति खुशी व्यक्त गर्दै यो संस्थाको थप प्रगतिको कामना गर्नुभएको थियो ।

साधारण सभामा त्यसै संस्थाका अध्यक्ष मानन्धरले संंस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्थानीय समुदायमा आधारित रहेर सहकारी सिद्धान्त, नीति, विधि र पद्दति भित्र रहेर सञ्चालन भइरहेको हाम्रो यो संस्था शेयर सदस्य ज्यूहरुको अटुट विश्वास, साथ र सहयोग तथा कर्मचारीहरुको मेहनतले हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको भन्दै सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
उक्त संस्थाका लेखा सुपरीवेक्षण समिति सदस्य कृष्ण सुन्दर प्रजापतिको संयोजनमा सम्पन्न भएको साधारण सभामा सोही संस्थाका कोषाध्यक्ष प्रेम सुन्दर श्रेष्ठ संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सुन्दर श्रेष्ठले संस्थाको लेखा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
शेयर सदस्यहरु बीच छलफल भई ती प्रतिवेदनहरु साधारण सभाबाट पारित गरिएको थियो । साधारण सभाबाट पारित भएका प्रगति प्रतिवेदनमा आर्थिक वर्ष २०७९/०८० मा सो संस्थामा पुरुष ८९० र महिला ५७१ गरी शेयर सदस्य संख्या १,४६१ , चुक्ता पूँजी रु.१,४६,९३,६०० र कारोबार रु.१७,२२,५३,४०७/७९ उल्लेख छ ।
त्यसै संस्थाका सचिव अनिल श्रेष्ठले सञ्चालन गरेको साधारण सभामा महिला सदस्य मिन्दिरा श्रेष्ठले स्वागत मन्तव्य तथा नि:वर्तमान अध्यक्ष सुमन श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।
साधारण सभामा त्यस संस्थाको सम्पू र्ण विवरणलाई कोपोमिस सफ्टवेयरको अनलाइन प्रविधिमार्फत अद्यावधिक गरिंदै आएको समेत जानकारी दिइएको थियो ।
यो वर्ष मध्यपुर थिमि नगरपालिका सहकारी शाखाबाट उद्घाटनसत्र तथा बन्दसत्र गरी दुईथरी कार्यक्रम नगरी एउटै कार्यक्रममार्फत साधारणसभा सम्पन्न गर्न सूचना दिए बमोजिम सदस्यहरुको सुझाव संकलन गरी एउटै कार्यक्रममार्फत साधारण सभा सम्पन्न भएको थियो ।
सो अवसरमा साधारण सभाका अध्यक्ष मानन्धरले अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।





