बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का सञ्चालक समेत रहेका भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्डले सहकारीमा जोखिम बढाएको छ’, भन्नुभएको छ । २०८२ असार १५ गते, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को शिक्षा तथा संस्थागत उप-समितिको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को साझेदारीमा २०८२ असार १५ गते आइतबार के.भी. लञ्ज कमलविनायक, भक्तपुरमा सम्पन्न सहकारीमा जोखिम व्यवस्थापन विषयक एक दिने तालिमको समापन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै अध्यक्ष लाखाजुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरूको लागि जारी गरेको मापदण्ड सहकारीमा जोखिम घटाउन ल्याएको तर हाल तत्काल कार्यान्वयन गर्नुपर्दा यसले उल्टो जोखिम बढाएको बताउनुभयो । उहाँले हालको यो मापदण्ड अनुसार संस्थाले सदस्यको बचत संकलनको सीमाले बचत फिर्ताको चाप बढ्ने र लामो समयका लागि लगानी गरेको ऋणको सावाँ व्याज असुल उपर नहुँदा संस्थामा तरलता जोखिम बढाउने धारणा व्यक्त गर्नुभयो । सहकारीमा जोखिम धेरै भएकोले जोखिमलाई न्यूनीकरण गरेर कार्य गर्नु पर्नेमा जोड दिदै उहाँले सहकारीमा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्मचारी र सदस्यहरुबाट समेत जोखिम हुने भएकोले ती जोखिमलाई न्यूनिकरण गर्न संस्था सहकारीको सिद्धान्त अनुसार नीति, विधि र प्रविधिमा आधारित भएर सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

यसैगरी सोही संघका सचिव

जगनाथ प्रजापतिले जोखिम हरेक क्षेत्रमा हुने भन्दै जोखिम बहन गर्न सक्ने जोखिम मात्र लिनुपर्ने बताउनुभयो । उहाँले सहकारीमा जोखिमलाई पहिचान गरी जोखिम न्युनिकरणका उपायहरु अबलम्बन गर्न सकोस् भनी तालिमको आयोजना गरेको विचार व्यक्त गर्नुभयो ।
त्यसैगरी उक्त संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी सञ्चलानमा आन्तरिक र बाह्य जोखिम हुने भएकोले आन्तरिक जोखिमलाई संस्थाका सञ्चालक र व्यवस्थापनले जोखिम न्युनिकरणका लागि भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले सहकारीमा चुनौतीपूर्ण ऐन नियम र मापदण्डले संस्था सञ्चालनमा बाह्य जोखिम बढाएको जिकिर गर्नुभयो ।
तालिममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का तालिम अधिकृत उमेश कोइरालाले जोखिमको परिचय, जोखिमको प्रकार र सहकारीमा जोखिमबाट बच्ने उपाय विषयहरुमा प्रयोगात्मक ढंगबाट सहजिकरण गर्नुभएको थियो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को शिक्षा तथा संस्थागत उप-समितिका सदस्य चण्डिका छुंकाले यो तालिमबाट सिकेका कुराहरु संस्थामा कार्यान्वयन गर्नु हुन अनुरोध गर्दै सो समापन कार्यक्रम सञ्चालन गर्नुभयो । त्यस अवसरमा उक्त तालिममा सहभागीहरुमध्येबाट चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक सुदर्शन चौलागाईले सहकारी सञ्चालनका जोखिम न्यूनिरणका लागि महत्वपूर्ण र प्रभावकारी तालिमको आयोजना गरिएकोमा खुशी व्यक्त गर्नुभयो । सो तालिममा संघमा आवद्ध सदस्य संस्थाहरुबाट १९ जनाको सहभागिता रहेको थियो ।

तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।






