आचार्य १ नं. प्रदेशको मुख्यमन्त्री रहने कि नरहने भन्ने टुङ्गो आज लाग्ने , राईलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनको निर्णय

विराटनगर/ अन्यथा केही नभएमा आज १ नं. प्रदेश सभाले सो प्रदेशका मुख्यमन्त्री भीम आचार्य मुख्यमन्त्री पदमा रही रहने या मुख्यमन्त्री पदबाट बहिर्गमन हुने भन्ने टुङ्गो लगाउने छ । १ नं. प्रदेश सभाको आज बस्ने बैठकमा मुख्यमन्त्री आचार्यले बिश्वासको मत माग्ने कार्यतालिका रहेको बताइएको छ । गत भदौ १० गते नेकपा (एमाले) का सचिव तथा १ नं. प्रदेश सभा दलका नेताको हैसियतमा त्यस प्रदेशको मुख्यमन्त्री बनेका आचार्य नेतृत्वको १ नं. प्रदेश सरकार नेकपा(एमाले) विभाजन भई नेकपा(एस) बनेसँगै अल्पमतमा परेको थियो , जसका कारण संविधान अनुरुप मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट बिश्वासको मत लिनु पर्ने प्रावधानका कारण आचार्यले प्रदेश सभाबाट बिश्वासको मत लिन लाग्नु भएको हो । ९२ सदस्यीय उक्त प्रदेश सभामा ४७ जना प्रदेश सभा सदस्यको समर्थन चाहिने भएपनि प्रदेश सभा सभामुख सहित ४१ जना प्रदेश सभा सदस्य मात्रै भएकोले बिश्वासको मत पाउन मुख्यमन्त्री आचार्यलाई अन्यथा केही नभएमा सम्भव देखिएको छैन , जसले गर्दा आचार्य नेतृत्वको सरकार ढल्ने निश्चित जस्तै छ ।

यता नेपाली काँग्रेस, नेकपा (माके), नेकपा (एस), जसपा र संघीय लोकतान्त्रिक मञ्चको विपक्षी गठबन्धनले नेकपा (एस) का सचिव तथा १ नं. प्रदेश सभा दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । सो गठबन्धनको हिजो बसेको बैठकले उक्त निर्णय गरेको बताइएको छ । १ नं. प्रदेश सभामा नेपाली काँग्रेसका २१, नेकपा(माके) का १५, नेकपा (एस) का १०, जसपाका ३ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना सदस्य छन् ।

Leave a Reply