ऋषि कट्टेल नेतृत्वको नेकपाको रुपन्देही जिल्ला संयोजन समिति गठन

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको रुपन्देही जिल्ला समिति पुनर्गठन भएको छ । सो पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीको प्रमुख आतित्यतामा २०७९ कार्तिक २७ गते आईतबार सम्पन्न अगुवा कार्यकर्ता भेलाले दिलिपकुमार शर्मा पौडेलको संयोजकत्वमा ११ सदस्यीय रुपन्देही जिल्ला संयोजन समिति निर्माण गरेको जनाइएको छ । उक्त समितिको सचिवमा घनश्याम बस्याल तथा सदस्यमा विपिन श्रेष्ठ, विष्णु पाण्डे, अर्पण वी.सी, कमला पौडेल, घनश्याम बुढाथोकी, हेमराज बस्याल, दीपक गैरे र रामप्रसाद गैरे नि हुनुहुन्छ ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले २०६२/०६३ को ऐतिहासिक जन-आन्दोलनबाट मुलुकको उपरी संरचनामा परिवर्तन भएपनि आधारभूत तहमा भने कुनै परिवर्तन नभएको भन्दै पूँजीपतिहरुको स्वार्थ सिद्ध गर्ने उद्देश्यले डिजाइन गरिएको संसदीय व्यवस्था नेपालमा असफल भएकोले यसलाई फालेर नयाँ जनवादी गणतन्त्र स्थापनाको दिशामा अगाडि बढ्नु पर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले कमरेड ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी कमरेड पुष्पलालको अगुवाईमा वि.सं. २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको उत्तराधिकारी पार्टी भएकोले यसलाई बलियो नबनाएसम्म मुलुकमा परिवर्तन सम्भव नभएको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा सोही पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश ईञ्चार्ज हरिदेव ज्ञवाली र सोही पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कृष्णहरि भट्टले आ-आफ्नो विचार व्यक्त गर्दै आउदो मंसिर ४ गते हुने निर्वाचनबाट मुलुकमा विद्यमान समस्या समाधान हुन सक्ने अवस्था नरहेकोले ३ कम्युनिष्ट पार्टीले यो निर्वाचन बहिस्कार गरेको बताउनुभयो ।

Leave a Reply