नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्की नेतृत्वको नेकपा (एमाले) र राप्रपा सम्मिलित कोशी प्रदेश सरकार ढलेसँगै कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सो प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउने तयारी गरिरहनुभएको बताइएको छ । कोशी प्रदेश सभा सचिवालयले आज कोशी प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेकोले उक्त प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पद मुक्त भएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएको जनाइएको छ
कोशी प्रदेश सभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सभामा आफू नेतृत्वको सरकारको पक्षमा मतदान गर्न अनुरोध गरी पेश गरेको विश्वासको मत पक्षमा ४६ र विपक्षमा ४३ मत परेकोले ९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पेश गरेको विश्वासको मत सोही प्रदेश सभाबाट अस्वीकृत भएको सभामुख बाबुराम गौतमले प्रदेश सभामा बताउनुभयो ।
सो विश्वासको मतको प्रस्ताव माथि हिजो नै सैद्धान्तिक छलफल सकिएपनि सरकार र विपक्ष बीच मतभेदका कारण त्यसबारे मतदान भने आज गरिएको थियो । उक्त मतदानमा नेपाली कांग्रेसकी ममता तामाङ, नेकपा (एमाले)का नारायण बुर्जा मगर र जसपाकी निर्मला लिम्बू अनुपस्थित रहेका थिए ।
यता दलहरु बीच समझदारी हुन नसक्ता कोशी प्रदेश सरकार कसको नेतृत्वमा बन्ने हो भन्ने बारेमा अन्यौलको अवस्था कायमै रहेको कतिपय जानकारहरु बताउछन् ।
उता कोशी प्रदेश सभा सबै भन्दा ठूलो दल नेकपा (एमाले)मा नेताहरुले आफ्नै नेतृत्वमा पुन: कोशी सरकार बनाउनु पर्नेमा जोड दिएका छन् ।





