कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा राजिनामा, जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने

वीरेन्द्रनगर/ पूर्व सहमती अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पदबाट आज राजिनामा दिनु भएको छ । कर्णाली प्रदेशबासीलाई सम्बोधन गरी उहाँले मुख्यमन्त्री पदबाट राजिनामा दिनु भएको बताइएको छ । कर्णाली प्रदेशबासीलाई सम्बोधन गर्ने क्रममा उहाँले आफू नेतृत्वको सरकारले गरेका कार्यको बारेमा प्रकाश पार्नु भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बिभाजन पछि शाही नेतृत्वको सरकार अल्पमतमा परेपछि गत बैशाखमा नेकपा(माके)का कर्णाली प्रदेश सभा दलका नेता शाहीले ६ महिना र त्यसपछिको बाँकी अवधि नेपाली काँग्रेसका कर्णाली प्रदेश सभा दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने सहमती भएको थियो । मुख्यमन्त्री शाहीको राजिनामपछि नेपाली काँग्रेसका कर्णाली प्रदेश सभा दलका नेता शाही कर्णाली प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

२०७७ सालको कार्तिकदेखि २०७८ सालको बैशाखसम्म शाहीलाई मुख्यमन्त्री पदबाट हटाएर आफू मुख्यमन्त्री बन्न नेकपा(एमाले)का कर्णाली प्रदेश सभा दलका नेता यामलाल कँडेलले पटक-पटक प्रयत्न गर्नु भएको थियो ,जसले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को बिभाजनमा थोरैतिनो भएपनि मलजल गरेको जानकारहरु बताउछन् तर आफ्ना दलका कर्णाली प्रदेश सभा सदस्यहरुको विद्रोह तथा नेपाली काँग्रेस, नेकपा(माके) र नेकपा (एस)का नेताहरु बीचको सहमती पछि कँडेलको कर्णाली प्रदेशको मुख्यमन्त्री बन्ने प्रयास असफल भएको थियो ।

१ नं. प्रदेशका मुख्यमन्त्री भीम आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको आजबाट बहिर्गमन भएसँगै हालसम्म २ नं. प्रदेश र सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री बाहेक ५ वटा प्रदेशका मुख्यमन्त्री फेरिएका छन् । तिनमा पनि १ नं. र बागमती प्रदेशका मुख्यमन्त्री दोस्रो पटक फेरिएका हुन् भने सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको बहिर्गमन हुने बारेमा पनि चर्चा चलिरहेको छ ।

Leave a Reply