काठमाडौंमा ३ कम्युनिष्ट पार्टीको निर्वाचन विरुद्ध भण्डाफोर कार्यक्रम सम्पन्न

आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कारको घोषणा गरेका ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको आयोजनामा बिहीबार काठमाडौंमा ‘मंसिर ४ कथित चुनावको विरुद्ध भण्डाफोर कार्यक्रम’ सम्पन्न भयो । ती पार्टीहरुको आयोजनामा काठमाडौंको सुन्धाराबाट शुरु भएको विरोध जुलुस शान्तिबाटिकामा पुगेर भण्डाफोर सभामा परिणत भएको थियो । सो सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले बिगतका घटनाक्रमले नेपालमा संसदीय व्यवस्थाको औचित्य सकिएकोले यसको खारेजीको लागि नेपाली जनताले आउदो मंसिर ४ गतेको चुनाव बहिस्कार गर्नु पर्ने बताउनुभयो । संसदीय व्यवस्थाले कही पनि श्रमजीवी जनताको हित नगरेको बताउदै उहाँले आउदो मंसिर ४ गतेको संसदीय निर्वाचन पछि देश र जनताको हित विरुद्धका कार्य बढेर जाने ठोकुवा गर्नुभयो । उहाँले देश र जनताको हितमा नभएकोले पञ्चायत ढल्यो , संवैधानिक राजतन्त्र ढलेको प्रसङ्ग उल्लेख गर्दै देशमा पूँजीवादी संसदीय व्यवस्था कायम रहेपनि आज देशमा ८० प्रतिशत नेपाली जनता बहुआयमिक गरिवी रेखामुनि रहेको बताउनुभयो । मतपेटिका साट्ने जस्ता बद्मासी गर्न निर्वाचन आयोगले मतदाताको संख्या भन्दा धेरै बढी मतपत्र छापेको उहाँको भनाई थियो । सोही पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले

मंसिर ४ गतेको कथित निर्वाचनले मुलुकमा थप राष्ट्रघात जनघात हुने ठोकुवा गर्दै यो कथित चुनाव खारेज गर्नुपर्छ’, भन्नुभयो । उहाँले दलाल पूँजीवादी सत्ताले हाम्रो देशमा उत्पादन गर्न नदिई अरुका सामान मात्रै बेच्नु पर्ने अवस्था निर्माण गर्दा नेपालमा बेरोजगारी र गरिवी बढिरहेकोले यो व्यवस्था मिल्काउनुको विकल्प नभएको बताउनुभयो । कहिलेकाही जित्न लागेको शक्तिले पनि हार्ने अवस्था आउने रहेछ भन्दै उहाँले आउने दशकमा आफूहरुले नेपालमा नयाँ परिवर्तन गर्ने बताउनुभयो । कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले

संसदीय व्यवस्थाले संसारका कुनै पनि देश न समृद्ध भएको छ न त्यहाँका श्रमजीवी जनताको जीवनमा कुनै परिवर्तन नै भएको छ भन्दै संसदीय व्यवस्थाको औचित्य र आवश्यकता नभएकोले मंसिर ४ गतेको कथित निर्वाचन बहिस्कार गर्नु पर्ने आलश्यकता औंल्याउनुभयो । उहाँले अमेरिका तथा वेलायत सहितका युरोपियन देशहरु लगायतमा संसदीय पूँजीवादी व्यवस्थाले नभई संसारका संसार भरका गरिव देशहरुलाई लुटेको पैसाले विकास भएको भन्दै संसदीय व्यवस्थाले विकास हुने र श्रमजीवी जनताको जीवनमा परिवर्तन आउने भए भारत, बंगलादेश , पाकिस्तान जस्ता संसदीय पूँजीवादी व्यवस्था भएका देशमा त परिवर्तन भएको छैन, अझ भारतमा त किसानहरुले वर्षेनी आत्महत्मा गरिरहेको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले संसदीय पूँजीवादी व्यवस्थाले विभिन्न देशमा विकास भयो भनेर भन्ने अर्थशास्त्रीहरुलाई पूँजीवादी संसदीय व्यवस्थाका बद्मासी र कमजोरीका तथ्य नलुकाउन आग्रह गर्नुभयो । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता मिलनले सञ्चालन र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका नेता राजेश्वरी सुबेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको त्यस सभामा ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा अखिल नेपाल महिला युनियनकी अध्यक्ष शशिकला घिमिरेले

संसदीय चुनाव धेरै महङ्गो भएकोले यसमा पैसावालहरुले मात्रै जित्ने र तिनले आफ्नो हित अनुरुप श्रमजीवी जनतालाइ शासन गर्ने गरेको र त्यसबाट श्रमजीवी जनताको जीवनमा कुनै परिवर्तन नआएकै तथ्य प्रस्तुत गर्दै यो आउदो मंसिर ४ गतेको कथित चुनाव बहिस्कार गर्नु पर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा सामना सांस्कृतिक परिवारका कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालक मिलनले पनि गीत गाउनुभएको थियो ।

यी तीन कम्युनिष्ट पार्टीको आयोजनामा इटहरी , बर्दिबास , पैखरा , बुटवल , सुर्खेत र धनगढीमा मंसिर ४ को चुनाव विरुद्ध भण्डाफोर कार्यक्रम गर्ने र अन्य ठाउँमा पनि विरोध कार्यक्रम गर्ने बताइएको छ ।

Leave a Reply