राजनीतिज्ञ, कुटनीतिज्ञ र पत्रकारको छवि बनाएका कोइराला परिवार भित्रका कम्युनिष्ट नेता कमल कोइरालाको अब सम्झना मात्रै बाँकी छ । गत मंगलबार लडेर पक्षघात भएपछि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत कोइरालाको गएको आइतबार बेलुका ९ बजे ८७ वर्षको उमेरमा निधन भयो । नेकपा (एमाले) विभाजन भई नेकपा (एस) बनेपछि सो पार्टीको सल्लाहकार रहेका कोइरालाको पार्थिव शरीर नेकपा (एस)को केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार दिउसो श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यहाँ पुगेर नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली , नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपा (माके)का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, नेकपा (एमाले)का पूर्व उपाध्यक्ष डा.भीम रावल, नेकपा (एस)का नेता कार्यकर्ताहरु लगायतले उहाँको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिएपछि सोमबार नै उहाँको पार्थिव शरीर पशुपति आर्यघाटमा वैदिक परम्परा अनुसार राजनीतिकर्मी, पत्रकार तथा परिवारका सदस्यहरु लगायतको उपस्थितिमा अन्तेष्टि गरिएको थियो । उहाँको निधनप्रति नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आरबी भण्डारी सहितका राजनीतिकर्मी पत्रकार र कुटनीतिज्ञहरुले शोक प्रकट गरेका छन् ।

कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन नेकपा (एस)को केन्द्रीय पुगेका प्रधानमन्त्री ओलीले नेकपा (एस) कार्यालय अवलोकन समेत गरि केहीबेर नेकपा (एस) नेताहरु लगायतसँग बसेर कुराकानी समेत गर्नुभएको थियो । यसबाट नेकपा (एमाले) र नेकपा (एस)का नेता कार्यकर्ताहरु बीचको कटुता कम हुनसक्ने अपेक्षा हुन थालेको छ ।
भूतपूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमल कोइराला बुबा तथा नेपाली नेताहरु वीपी कोइराला, गिरिजाप्रसाद कोइराला लगायत हिडेको बाटोमा नहिडी कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको थियो ।
ब्राम्हण परिवारमा जन्मेपनि ब्रतबन्ध नगरी विवाह गर्नुभएको थियो उहाँले । तत्कालीन समाजले अवलम्वन गर्दै आएको संस्कृति विरुद्ध उहाँको विद्रोह थियो त्यो ।
राजनीति र पत्रकारितालाई सँगसँगै अगाडि बढाएका कोइराला दृष्टि साप्ताहिक र रोडम्याप साप्ताहिकको प्रधान सम्पादक बनेर पत्रकारिता गर्नुभएको थियो । उहाँ जन आस्था साप्ताहिक, साँघु साप्ताहिक र बुधबार साप्ताहिकमा लामो समयसम्म स्तम्भकार पनि हुनुहुन्थ्यो ।
नेकपा (एमाले)को केन्द्रीय समिति सदस्य र केन्द्रीय सल्लाहकार बनेर काम गर्नुभएका कोइराला २०५१ सालमा सम्पन्न मध्याबधि निर्वाचनमा मोरङ क्षेत्र नं.५ बाट प्रतिनिधि सदस्यमा निर्वाचित हुनुभएको थियो । साँढे ३ वर्षजति उहाँ दक्षिण कोरियाको राजदूत भएर पनि काम गर्नुभएको थियो ।
दिवंगत कोइरालाका १ छोरी र १ छोरा छन् ।





