दमकमा एमालेका वडा सदस्य उम्मेद्वार तामाङको राप्रपा– कांग्रेस- माके गठबन्धनलाई साथ

दमक/ स्थानीय तह निर्वाचनको मुखमा झापाको दमक नगरपालिका वडा नं.७ का नेकपा (एमाले)का वडा सदस्य पदका उम्मेद्वार गुमानसिंह तामाङ ‘भापुङ’ले आफ्नो उम्मेद्वारी फिर्ता लिई राप्रपा- नेपाली कांग्रेस- नेकपा (माके) गठबन्धनलाई साथ दिने घोषणा गर्नु भएको छ । आज प्रेस विज्ञप्ति जारी उहाँले आजैबाट नेकपा (एमाले) परित्याग गरी स्वतन्त्र बनेको बताउनुभएको छ । आफू उम्मेद्वार बनेर जनताको घरदैलोमा जाँदा राप्रपा-नेपाली कांग्रेस-नेकपा (माके) गठबन्धनका उम्मेद्वारको पक्षमा मतदाताको व्यापक समर्थन देखेपछि सो गठबन्धनका उम्मेद्वारलाई साथ दिने निश्कर्षमा पुगेको उहाँको भनाई छ ।

तामाङ २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दमक नगरपालिका वडा नं.७ को नेकपा (माके)को तर्फबाट वडा अध्यक्ष पदको उम्मेद्वार बन्नु भएको थियो तर उहाँ राप्रपा-नेपाली कांग्रेस-नेकपा (माके) का दमक नगरपालिका वडा नं.७ का वडाध्यक्ष पदका उम्मेद्वार भीमप्रसाद पौडेलसँग पराजित हुनुभएको थियो ।

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली को निर्वाचन क्षेत्र रहेको दमक नगरपालिकामा नेकपा (एमाले) एकल र राप्रपा-नेपाली कांग्रेस-नेकपा (माके) गठबन्धन गरेर चुनावी मैदानमा खडा भएका छन् । सो गठबन्धनकोतर्फबाट राप्रपाका राम थापा मेयर, नेपाली कांग्रेसकी रेगिना भट्टराई प्रसाई उप-मेयर तथा राप्रपाका २ , नेपाली कांग्रेसका ४ र नेकपा (माके)का ४ वडाध्यक्षको उम्मेद्वार बनेका छन् भने नेकपा (एमाले)को तर्फबाट मेयरमा नि:बर्तमान उपमेयर गीता अधिकारी र उपमेयर पदमा अम्बिका खनाल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । नेकपा (एमाले)का अध्यक्ष ओलीको प्रतिष्ठासँग जोडिएकोले यो नगरपालिकामा उक्त गठबन्धन र नेकपा (एमाले) का उम्मेद्वारहरु बीच कडा प्रतिस्पर्धा हुने जानकारहरु बताउछन् । यदी गठबन्धन भित्र घात भएन भने राप्रपा-नेपाली कांग्रेस-नेकपा (माके) को गठबन्धनका उम्मेद्वारले चुनाव जित्ने अवस्था रहेको कतिपयको दाबी रहेको छ ।

२०४९, २०५४ र २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा दमक नगरपालिकामा नेकपा (एमाले)ले बर्चश्व कायम गरेको थियो ।

Leave a Reply