नगरबासीको स्वास्थ्य वीमामा रु.१,००० सूर्यविनायक नगरपालिकाले हालीदिन्छ : तिमिल्सिना

सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले ‘सूर्यविनायक नगरपालिकाले सञ्चालन गरेको नगर अस्पतालमा नगरबासीले स्वास्थ्य वीमा गर्दा लाग्ने रु.३,५०० मध्ये रु.१,००० सूर्यविनायक नगरपालिकाले हालीदिन्छ’, भन्नुभएको छ । भक्तपुरको गाम्चाचोकमा आफ्नै बहुउद्देश्यीय भवनबाट सञ्चालन भइरहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभामा आज शुभकामना मन्तव्य व्यक्त गर्दै उहाँले ‘ सूर्यविनायक नगरपालिकालाई समृद्ध नगर र सुखी नगरबासी बनाउने योजनाका साथ हामी अगाडि बढिरहेका छौं’, भन्नुभयो । सूर्यविनायक नगरपालिकाले भक्तपुर जिल्लालाई नै लक्षित गरी पर्यटन पूर्वाधारको विकासका लागि योजना बनाएर अगाडि बढिरहेका छ भन्दै उहाँले इस्कुस खेतीको लागि पाइलट योजना अगाडि बढाइएको बताउनुभयो । सूर्यविनायक नगरपालिका भित्र उच्च शिक्षा अध्ययनका लागि कलेज निर्माण र प्राविधिक शिक्षा प्रदान गरी रोजगारी र गरिवी निवारणका लागि कार्य गर्ने सूर्यविनायक नगरपालिकाको योजना रहेको बताउदै उहाँले ‘सूर्यविनायक नगरपालिकाका बासिन्दा जो डाक्टर छन्, उनीहरुसँग सूर्यविनायक नगरबासीहरुको उपचारका बारेमा छलफल भइरहेको छ’, भन्नुभयो । अरनिको हाइवेको दायापट्टी फुल रोपेर सूर्यविनायक नगरपालिकाको सौन्दर्य बढाउने योजना रहेको उहाँको भनाई छ ।

Leave a Reply