निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेस भित्र असन्तुष्टि बढ्दै

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिएसँगै उम्मेद्वार चयनको विषयलाई लिएर नेपाली कांग्रेस भित्र असन्तुष्टि बढ्दै गएको देखिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक तर्फका बन्दसूचीमा समावेश भएका उम्मेद्वारहरुको सूची यही असोज १४ गतेसम्ममा संशोधन गर्न नेता डा.शेखर कोइराला पक्षका नेता कार्यकर्ताहरुले संस्थापन पक्षलाई आग्रह गर्दै आएको छन् । काठमाडौंमा छुटै भेला समेत गरेर दवाव दिइरहेको सो पक्षले संस्थापन पक्षको ध्यानकर्षणका लागि आज नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना दिने जनाएको छ । त्यसै पक्षका एक नेता गुरुराज घिमिरेले शुरुमा विनम्रताको नीति अगाडि बढाइएको , त्यसबाट आफूहरुको माग सुनुवाई नभए विरोधको नीति अगाडि बढाउने र त्यसबाट पनि आफूहरुको माग सुनुवाई नभए विद्रोहको नीति अगाडि बढाउने बताउनु भएको छ । बेलैमा पार्टी भित्र उम्मेद्वार छनौटमा न्याय नभए गठबन्धनको तर्फबाट नेकपा (माके)का उम्मेद्वारहरु बिरुद्ध उम्मेद्वारी दिने त्यस पक्षले चेतावनी दिएको छ । यता नेपाली कांग्रेसको संस्थापन पक्षले भने प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची सही रहेको जनाएको छ । सोही पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले नेपाली कांग्रसले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची सही भएकोले त्यसलाई सच्याउन आवश्यक नरहेको सञ्चारकर्मीहरुलाई बताउनुभएको छ ।

नेपाली कांग्रेस भित्रको विवाद चाडै समाधान हुन सकेन भने त्यसले त्यस नेपाली कांग्रेस भित्र विभाजनको रेखा कोर्न सक्ने खतरा रहेको जानकारहरु बताउछन् । गत स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेद्वारलाई मत नदिदा ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयर , इलामको माइजोगमाई गाउँपालिकाको अध्यक्ष तथा विराटनगर महानगरपालिका , ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिकाका गठबन्धनका उप-मेयर पदका उम्मेद्वार सहित केही पालिकाका गठबन्धनका उम्मेद्वारहरुलाई नेपाली काग्रेसका कार्यकर्ताले मतदान नगर्दा त्यहाँ उनीहरु पराजीत भएको देखेका सत्ता गठबन्धनका नेपाली कांग्रेस बाहेकका दलहरुका नेता कार्यकर्ताहरुमा नेपाली कांग्रेस भित्र विद्रोह भए आफूहरुको भविष्य के हो हुने हो भन्ने चिन्ताले सताउन थालेको देखिएको छ ।

एमाले प्रवेशको लहर

प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति नजिकिएसँगै नेकपा (एस), जसपा र लोसपा लगायत दल परित्याग गरी नेकपा (एमाले)मा प्रवेशको लहर देखिएको छ । पछिल्लो पटक नेकपा (एस)का गुल्मीमा जसरी नै अछाम जिल्ला कमिटी अध्यक्ष सहितका नेता कार्यकर्ताहरुले उक्त पार्टी परित्याग नेकपा (एमाले)मा प्रवेश गरेका थिए ।

नेकपा (माके)मा पुन: विद्रोह

गठबन्धन गरेर उम्मेद्वारी दिने नीतिका साथ अगाडि बढिरहेको नेकपा (माके) भित्र पनि असन्तुष्टि बढेको देखिएको छ । पछिल्लो पटक पुन: सो पार्टीका पोलिट्व्युरो सदस्य हेमराज भण्डारी सहित धनकुटाका दर्जन बढी नेता कार्यकर्ताले उक्त पार्टी परित्याग गरी स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरी सकेका छन् ।

Leave a Reply