नेकपा(एस)का नेताद्वय पाण्डे र राई बागमती प्रदेश र १ नं. प्रदेशको मुख्यमन्त्री बन्ने

काठमाडौं/ नेकपा(एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र सचिव राजेन्द्रकुमार राई बागमती प्रदेश र १ नं. प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित जस्तै भएको जनाइएको छ । आज सत्तारुढ गठबन्धनको नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट नेताद्वय पाण्डे र राईलाई बागमती प्रदेश र १ नं. प्रदेशको मुख्यमन्त्री बनाउने सहमती भएको बताइएको छ ।

जिल्ला पञ्चायत, धादिङको जनपक्षीय उम्मेद्वार भई सभापति बनेका राजेन्द्रप्रसाद पाण्डे धादिङबाट पटक-पटक चुनाव जितेर सांसद बनेका थिए । सांसदसँगै उनी मन्त्री पनि बनेका थिए । उता राजेन्द्रकुमार राई भने विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् । भोजपुरको झ्याउपोखरीका राई २०४४ सालमा आईए पढ्न काठमाडौंको प्रदर्शनीमार्ग स्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा आएका थिए । उनी अखिलको तर्फबाट २०४५ र २०५१ सालमा सोही क्याम्पसको स्ववियू सदस्य र २०४९ सालमा उक्त क्याम्फसको स्ववियू सभापति भएका थिए । अखिलको अध्यक्ष हुदै नेकपा(एस) का अध्यक्ष माधवकुमार नेपाल २०६५ सालमा प्रधानमन्त्री बन्दा मिलनसार र मृदुभाषी राई प्रधानमन्त्रीको सल्लाहकार थिए ।

बागमती प्रदेश र १ नं. प्रदेशका मुख्यमन्त्री तथा नेकपा(एमाले) का नेताद्वय अष्टलक्ष्मी शाक्य र भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा छन् । दुबै मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत पाउने सम्भावना यसबेलासम्म देखिएको छैन । बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले यही आउदो असोज २४ गते बागमती प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची तय भएको छ तर १ नं. प्रदेशका मुख्यमन्त्री आचार्यले भने प्रदेश सभाबाट विश्वासको मत लिने मिति तय भएको छैन । यता मुख्यमन्त्री आचार्यले १ नं. प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आफ्नो नेतृत्वमा चुनावसम्म सहमतीय सरकार बनाउन आह्वान गरेका छन् तर उनको त्यो आह्वानलाई सत्तारुढ गठबन्धनमा रहेका दलहरुले वास्ता गरेका छैनन् ।

Leave a Reply