नेपाली कांग्रेसका सभापति देउवा कै नेतृत्वमा अबको गठबन्धन सरकार बन्छ : मन्त्री कार्की

सुनसरी क्षेत्र नं.४ बाट पुन: प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै नेतृत्वमा अबको गठबन्धन सरकार बन्ने बताउनुभएको छ । पत्रकारहरुसँग कुरा गर्दै उहाँले सुनसरी क्षेत्र नं.४ को विकासको लागि यहाँका मतदाताहरुसँग यहाँ गरिने विकास निर्माणको बिरेमा आवश्यक सुझाव लिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफू सहित सत्ता गठबन्धनका उम्मेद्वारलाई मतदान गर्ने जस्ता सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

सुनसरी क्षेत्र नं.४ बाट प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेद्वार समेत रहेका नेपाली कांग्रेसका नेता तथा मन्त्री कार्कीले निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का जगदिशप्रसाद कुसियतलाई ११२ मतान्तरले पछि पारी विजयी हुनुभयो । मन्त्री कार्की सुनसरी क्षेत्र ४ बाट प्रतिनिधि सभा सदस्यमा २०७४ सालको निर्वाचनमा पनि विजयी हुनुभएको थियो ।

विजयी कार्कीले ३०,४८३ मत पाउदा उहाँका निकटतम प्रतिद्वन्दी कुशियतलै ३०,३७१ मत प्राप्त गर्नुभयो । कार्की विजय भएसँगै नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ ५५ सीट जितेको छ । यसबेलासम्म प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ मध्ये २६२ स्थानको मतपरिणाम घोषणा भएको छ ।

प्रतिनिधि सभाका ४ निर्वाचन क्षेत्र रहेको सुनसरीको क्षेत्र नं.१ मा नेकपा (एमाले) को सहयोगमा जसपा, नेपाल संघीय परिषद अध्यक्ष अशोककुमार राई , क्षेत्र नं.२ मा नेकपा (एमाले)का भीम आचार्य र क्षेत्र नं.३ मा नेकपा (एमाले) की भगवती चौधरी यस अगाडि नै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई सक्नुभएको छ ।

Leave a Reply