नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभपति देउवा र महामन्त्री थापा भिड्दै

नेपाली कांग्रेसको संसदीय दल नेता चयनका लागि भोलि निर्वाचन हुदै छ । सो पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा भिड्दै हुनुहुन्छ । सिंहदरवार स्थित उक्त पार्टीको संसदीय दलको कार्यालयमा आज दिउसो उपस्थित भएर सभापति देउवा र महामन्त्री थापाले त्यस पार्टीको संसदीय दलको नेतामा उम्मेद्वारी दर्ता गर्नु भएको हो । सभापति देउवाको प्रस्ताबक बरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उप-सभापति पूर्णबहादुर खड्का रहनुभएको जनाइएको छ ।

यस्तै महामन्त्री थापाको प्रस्तावकमा उप-सभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सांसद प्रदीप पौडेल तथा समर्थकमा नेता शेखर कोइराला रहनुभएको बताइएको छ ।

सभापति देउवाका समर्थक खड्काले राजनीतिमा उमेरले नभई आवश्यकताले जिम्मेवारी निर्वाह गर्नु पर्ने भएकोले आफ्नो उम्मेद्वारी फिर्ता लिएर सभपति देउवालाई सर्वसम्मत बनाउन महामन्त्री थापालाई आग्रह गर्नुभएको छ । यसैगरी महामन्त्री थापाले आफ्नो उम्मेद्वारी फिर्ता लिएर आफूलाई सर्वसम्मत नेपाली कांग्रेसको संसदीय दलको नेता बनाई युवा पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री देउवा २०५१ सालमा प्रतिनिधि सभाको मध्याबधि निर्वाचन सम्पन्न भएपछि पहिलो पटक तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई पराजित गरी पहिलो पटक संसदीय दलको नेता बन्नुभएको थियो । संसदीय दलको नेताको हैसियतमा उहाँ २०५२ सालमा संयुक्त सरकारको प्रधानमन्त्री बन्नुभएको थियो । त्यसपछि पनि उहाँ ३ पटक नेपाली कांग्रेसको संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्नुभयो तर तेश्रो पटक प्रधानमन्त्री बन्दा भने नेपाली कांग्रेस (प्रजातान्त्रिक)को सभापति हुनुहुन्थ्यो ।

प्रधानमन्त्री देउवा पहिलो पटक नेपाली कांग्रेसको संसदीय दलको नेता चयन भएको २८ वर्षपछि महामन्त्री थापाले चुनौति दिनुभएको छ । संसदीय दलको नेताका लागि महामन्त्रीमा देउवा खेमा इतरको पक्षको समर्थन रहेपनि संसदीय दलको नेताका लागि सभापति देउवा पनि त्यति कमजोर नरहेको जानकारहरु बताउछन् ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका प्रत्यक्ष तर्फ निर्वाचित ५७ र समानुपातिक तर्फबाट निर्वाचित ३२ गरी ८९ जना सांसद छन् ।

नेपाली कांग्रेसको १ नं. प्रदेश र बागमती प्रदेश सभा दलको नेता चयनका लागि चुनाव हुने

यता नेपाली कांग्रेसको १ नं. प्रदेश र बागमती प्रदेश सभा दलको नेता चयनका लागि निर्वाचन हुने जनाइएको छ । ती प्रदेश सभाको दलको लागि नेपाली कांग्रेस भित्र आकाङ्क्षी बढेपछि निर्वाचनमा जानु पर्ने अवस्था बनेको सो पार्टीले जनाएको छ ।

Leave a Reply