नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको आज ४३औं स्मृति दिवस

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको आज ४३औं स्मृति दिवस बिभिन्न कार्यक्रम गरी मनाइदैछ । नेपाल कम्युनिष्ट पार्टीले भर्चुअल माध्यमबाट उनको स्मृतिमा आज दिउसो प्रवचन कार्यक्रम आयोजना गरेको सोही पार्टीका नेता रत्नप्रसाद जोशीले बताएका छन् । त्यसैगरी अरु वाम तथा कम्युनिष्ट पार्टीले पनि उनको स्मरण गर्ने जनाइएको छ ।

शहीद गंगालालका माहिला भाइ पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुको साथै बाचुञ्जेल नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धाराको नेतृत्व गरी रहे । आफ्ना दाजु गंगालालको प्रेरणाले उनी राष्ट्रिय काँग्रेस मार्फत राजनीतिमा प्रवेश गरेका थिए तर सो दलले लिएको नीति र कार्यक्रमले समाज परिवर्तन हुन्छ भन्ने कुरामा बिश्वास नभएपछि उनी कम्युनिष्ट आन्दोलनतिर लागे । उनले अन्तर्राष्ट्रिय कम्युनिष्ट घोषणा-पत्र नेपालीमा उल्था गर्नुको साथै सन १९४९ मई २२ तारेखमा (वि.सं.२००६ बैशाख १० गते) भारतको कलकत्ता स्थित श्यामबजारमा आफ्नै पहल र नेतृत्वमा निरञ्जन गोविन्द बैद्य , नारायण विलास जोशी , नरबहादुर कर्माचार्य र मोतिदेवी सदस्य रहेको नेपाल कम्युनिष्ट पार्टीको तदर्थ समिति बनाए , जसको आयोजनामा सन् १९४९ सेप्टेम्बर १५ तारेख (वि.सं.२००६ भदौं ३० गते) नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । शुरुदेखि वि.सं. २००८ सालसम्म नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व गरेका पुष्पलालले त्यसपछि वि.सं.२०२५ सालसम्म सो पार्टीभित्र पोलिटव्युरो सदस्य भएर काम गरेका थिए । वि.सं. २०१९ सालमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुल्सीलाल अमात्य नेतृत्वको केन्द्रीय समिति निष्कृय भएर राम्रोसँग काम गर्न नसकेपछि पुष्पलालले आफ्नै अगुवाईमि वि.सं.२०२५ सालमा भारतको गोरखपुरमा राष्ट्रिय सम्मेलन आयोजना गरी आफ्नै नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी पुनर्गठन गरेका थिए । सो सम्मेलनबाट नेपाल कम्युनिष्ट पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद , लेनिनवादी र माओविचार धारा र नेपाली क्रान्तिको न्युनतम कार्यक्रम नयाँ जनवाद र अधिकतम कार्यक्रम वैज्ञिनिक समाजवाद र साम्यवाद तर भएको थियो । उक्त समयदेखि २०३५ सालसम्म पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा थिए । वि.सं.१९८१ असार १५ गते जन्मिएका पुष्पलालको स्वास्थ्यमा समस्या आएपछि भारतको दिल्लीस्थित गोविन्द बल्लभ पन्त अस्पतालमा ५४ वर्षको उमेरमा वि.सं.२०३५ साउन ७ गते निधन भएको थियो । १ छोरा र १ छोरीका पिता पुष्पलालको शवलाई तत्कालीन पञ्चायती सरकारले नेपाल ल्याउन नदिएपछि उनको भारतमै दाहसंस्कार गरिएको थियो तर हालको नेपाल कम्युनिष्ट पार्टीका नेता आर.बी. भण्डारीले अर्का एक जना साथीसँग मिलेर पञ्चायती पुलिस प्रशासनलाई छक्याएर काठमाडौंमा ल्याएको पुष्पलालको अस्तु तत्कालीन सरकारको अवरोधका बाबजुद काठमाडौंको शोभा भगवतीमा विसर्जन गरिएको थियो ।

वि.सं.२०१७ पुस १ गते तत्कालीन सरकार र संसद अपदस्त गरी पञ्चायती व्यवस्था स्थापना गरेपछि पुष्पलालले नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी मिलेर संसद पुनर्स्थापना लागि संघर्ष गर्नु पर्नेमा जोड दिएका थिए तर त्यसलाई नेपाली काँग्रेसले वास्ता गरेन भने त्यही कारण पुष्पलाललाई एक नम्बरको गद्धार , काँग्रेसको पुच्छर भनेर कम्युनिष्ट आन्दोलन भित्र लामो समयसम्म आलोचना र गाली गर्ने कार्य भइरह्यो । तत्कालीन नेकपा (चौ.म.) तथा हालको नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले त पुष्पलाललाई गाली गरेर ‘गद्धार पुष्पलाल’ नामक पुस्तक नै लेखेका थिए । त्यसको चारैतिर आलोचना भएपछि सिंहले सो पुस्तकलाई परिमार्जन गरी त्यसको नाम ‘क्रान्ति कि भ्रान्ति’ राखेका थिए । यता पुष्पलालले अगाडि सारेका संयुक्त संघर्षको नीति अनुरुप २०४६ मा काँग्रेस र वामहरुको संयुक्त जन आन्दोलनबाट पञ्चायत ढलेको थियो भने ८ राजनीतिक दलको नेतृत्वमा भएको २०६२/०६३ को जन आन्दोलनले सफलता प्राप्त भएको थियो ।

पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै नेपाली समाजको चरित्र अर्ध-औपनिवेशिक र अर्ध-सामन्ती रहेको व्याख्या र विश्लेषण गरेका थिए ‌। उनले नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास लगायतका पुस्तकहरु लेखेका छन् । उनी नेपाली कम्युनिष्ट आन्दोलनका उच्च तहको नेता त हुन् नै, त्योसँगै उनी नेपालको इतिहासको राम्रोसँग व्याख्या र विश्लेषण गर्न सक्ने लेखक थिए भन्ने कुरा उनका लेख , रचना र पुस्तकहरुबाट देख्न सकिन्छ ।

एक समय पुष्पलाललाई गाली गर्नेहरु पनि यतिबेला पुष्पलालको फोटो बोकेर गुणगान गाइरहेको देखिन्छ । तर यसलाई नजिकबाट नियाली रहेका नेपाल कम्युनिष्ट पार्टीका नेता शरण विक्रम मल्ल भने पुष्पलालले अगाडि सारेका नीति, विचार र सिद्धान्तलाई आत्मसाथ गरेर उहाँको व्यक्तित्वको प्रशंसा गर्नु त ठिकै हो तर उनका नीति , विचार र सिद्धान्तलाई आत्मसाथ नगर्ने केवल उनको गुणगान मात्रै गाउने कुराले चाहिँ पुष्पलालको सम्मान नभई अपमान भइरहेको बताउनुहुन्छ ।

यतिबेला कम्युनिष्ट आन्दोलनमा पुष्पलाल सबैलाई आवश्यक भएको देखिदैछ तर पुष्पलालले अगाडि सारेका नीति , विचार र सिद्धान्तलाई आत्मसात गर्नेहरु भने संख्यात्मक रुपमा थोरै छन् । उता कतिपयले त यथार्थभन्दा पर पुगेर आफुखुशी बढाईचढाई गरेर पुष्पलाललाई देवत्वकरण गर्न खोज्ने प्रबृत्ति पनि देखिएको छ तर यस्ता प्रबृत्तिले पुष्पलालको अवमुल्यन भइरहेको महशुस हुन थालेको छ ‌‌। द्वन्दवादी सिद्धान्तको जगमा उभिएर पुष्पलालको व्यक्तित्व र नेपाली कम्युनिष्ट आन्दोलनमा उनको योगदानको मुल्यंकन गर्नु चाहिँ उपयुक्त हुने देखिन्छ ।

वि.सं.२०१५ सालको संसदीय निर्वाचनमा पराजित भएर पनि आफ्नो कर्मले गर्दा पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव मात्रै नभएर नेपाली कम्युनिष्ट आन्दोलनको उच्च तहको नेता बनेका छन् ।

Leave a Reply