नेपाल कम्युनिष्ट पार्टीमा जन आकर्षण बढिरहेको छ : ऋषि कट्टेल , पूर्व माओवादी लडाकु दीपक थापा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश

भक्तपुर / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाल कम्युनिष्ट पार्टीले लिएको नीति र कार्यदिशाका कारण यतिबेला नेपाल कम्युनिष्ट पार्टीप्रति जन आकर्षण बढेको बताउनु भएको छ । २०७८ कार्तिक २७ गते भक्तपुरको लोकन्थलीमा नेपाल कम्युनिष्ट पार्टीको बागमती प्रदेश समितिले आयोजना गरेको सो पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनमा प्रस्तुत भएका दस्तावेजहरुको मस्यौदा माथिको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय स्वाधिनताको रक्षा , अग्रगमन तथा महङ्गी, भ्रष्टाचार जस्ता जनजीवीका सवालमा नेपाली जनताले भोगिरहेका समस्या हल गर्न रणनीतिक मोर्चाले जिम्मेवारीपूर्वक संघर्षका कार्यक्रम ठीक ढंगबाट अगाडि बढाउनु पर्ने खाँचो औंलाउनुभयो । त्यस अवसरमा अध्यक्ष कट्टेलले सोही पार्टीमा प्रवेश गरेको पूर्व माओवादी लडाकु दीपक थापालाई स्वागत गर्नुभयो ।

सो कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सोही पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदीले श्रमजीवी नेपाली जनताको समस्या बर्तमान संसदीय व्यवस्थाबाट हल हुन सक्तैन भन्ने कुरा त्यसको व्यवहारले देखाएकोले संसदीय व्यवस्थाको विकल्पको रुपमा रहेको नयाँ जनवादी व्यवस्था स्थापनाको लागि श्रमजीवी मजदुर, किसान लगायतले एकजुट भएर अगाडि बढ्नु पर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रमको अध्यक्षता गर्दै सोही पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष महेन्द्र जोशीले मुलुकको आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका अपरिहार्य रहेको बताउनुभयो । उक्त पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश समितिका सचिव अर्जुन कार्कीले सञ्चालन गर्नु भएको सो कार्यक्रममा बागमती प्रदेश भित्रका नेता कार्यकर्ताहरुको सहभागिता थियो । कार्यक्रममा माडी क्याम्पसका पूर्व क्याम्पस प्रमुख समेत रहनु भएका सोही पार्टीका चितवन जिल्ला कमिटीका अध्यक्ष बद्री अधिकारी र बजार अर्थशास्त्रका विज्ञ समेत रहनु भएका त्यसै पार्टीका काठमाडौं जिल्ला समितिका अध्यक्ष नरेन्द्र तण्डुकार लगायतले उक्त सम्मेलनमा प्रस्तुत भएका दस्तावेजहरु माथि आ-आफ्नो सुझाव प्रस्तुत गर्नु भएको थियो । “क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्ध गरौँ,संसदवाद तथा बिसर्जनवादलाई परास्त गर्न संयुक्त संघर्षको विकास गरौँ” भन्ने मूल नाराका साथ गएको भदौ ३० गतेदेखि शुरु भएको सो राष्ट्रिय सम्मेलन २०७८ मंसीर अन्तिम साता जनकपुरमा समापन हुदैछ ‌।

Leave a Reply