पिपुल्स फोर्सको काठमाडौं जिल्ला स्तरीय कार्यकर्ता भेला सम्पन्न

पिपुल्स फोर्सको काठमाडौं जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला शनिबार सामाखुशीमा सम्पन्न भयो । सो भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीले मुलुकको विद्यमान राजनीतिक अवस्थाको बारेमा चर्चा गर्दै अहिलेको देशमा विद्यमान समस्याको समाधान संसदीय निर्वाचनबाट हुन सक्ने अवस्था नभएकोले नेपाल कम्युनिष्ट पार्टीले यो निर्वाचनमा भाग नलिने निर्णय गरेको बताउनुभयो । उहाँले पिपुल्स फोर्स श्रमजीवी जनताको दु:ख सुखको साथी भएर आफ्नो उद्देश्य प्राप्तिको दिशामा अगाडि बढ्नु पर्ने बताउनुभयो । पिपुल्स फोर्सका सह-संयोजक जीवन्द्र निलगगनको सञ्चालनमा सम्पन्न उक्त भेलाको सफलताको कामना गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्यद्वय कृष्णहरि भट्ट र राजकुमार थापाले पिपुल्स फोर्सले समाजमा विद्यामान शोषण र उत्पीडन विरुद्ध संघर्ष गर्नु पर्ने बताउनुभयो ।

सोही भेलाको अध्यक्षता गर्दै पिपुल्स फोर्सका संयोजक उत्सुक कट्टेलले पिपुल्स फोर्स समाजमा शोषित तथा उत्पीडित वर्ग र समुदायको मुक्तिको निम्ति संघर्ष गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले राज्यले युवाहरुलाई स्वदेशमै रोजगारीको उचित व्यवस्था गरी उनीहरुले प्राप्त गरेको ज्ञान र सीप देश निर्माणमा लगाउनु पर्ने खाँचो औंल्याउनुभयो । विना योजना समृद्ध नेपाल र सुखी नेपालीको नारा लगाउदैमा देश त्यत्तिकै समृद्ध नबन्ने उहाँको भनाई थियो । ।

त्यस भेलाले सुस्मिता थापाको संयोजकत्वमा पिपुल्स फोर्स , काठमाडौं जिल्ला समिति गठन गरेको छ ‌‌।

Leave a Reply