पी.एल. सिंहको निधनक‍ो शोकमा नेपाली कांग्रेसले झण्डा आधा झुकाउने

गएराती १ बजे काठमाडौंको चाक्सीबारीस्थित आफ्नै निवासमा ८८ वर्षको उमेरमा निधन भएका पूर्व जनसंख्या तथा वातावरण मन्त्री एवं काठमाडौं महानगरपालिकाका पूर्व मेयर प्रेमलाल सिंहको निधनको शोकमा ३ दिन नेपाली कांग्रेसले झण्डा आधा झुकाउने भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा य‍‍ोगदान गरेका पूर्व मेयर सिंहको निधनको शोकमा काठमाडौं महानगरपालिका र सो मातहतका निकायमा आज शोक बिदा दिएको छ भने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, उप-मेयर सुनिता डंगोल लगायतले काठमाडौंको चाक्सीबारीमा पुगेर दिवंगत सिंहको पार्थिव शरीरमा पुष्पार्पण गरी शोक प्रकट गरे । नेपाली कांग्रेसकोतर्फबाट वि.सं.२०४९ सालमा तत्कालीन काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएका सिंह सहितको पहलमा वि.सं.२०५२ साल मंसिर २९ गते काठमाडौं नगरपालिकालाई महानगरपालिकामा रुपान्तरण गरिएक‍ो थियो । काठमाडौं महानगरपालिका बनेपछिको पहिलो मेयर सिंह वि.सं. २०५४ सम्म सो महानगरपालिकाको मेयर जिम्मेवारीमा रहनुभयो ।

राजनीतिमा पी.एल. सिंहको नामले परिचपत दिवंगत सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि बिहान ११:०० बजेसम्म उहाँको निवास चाक्सीबारीमा राखिएको थियो । त्यसपछि दिउँसो १२:०० बजेदेखि २ बजेसम्म ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखियो । त्यहाँ दिवंगत सिंहप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गरे । उहाँप्रति नेकपा (एस)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायतले श्रद्धाञ्जली अर्पण गरि शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे ।

त्यसपछि दिवंगत सिंहको पार्थिव शरीर अन्तेष्टिका लागि काठमाडौंको कङ्केश्वरी मन्दिरसँगै रहेको लखतीर्थमा शवयात्रा गरि लगियो ।

लामो समयदेखि अस्वस्थ रहेका सिंह मृत्यु हुनुअघि आफ्नै निवासमा आराम गरिरहनुभएको बताइएको छ ।

नेपाली कांग्रेसले आफूलाई वनबास पठाएको भन्दै नेपाली कांग्रेसको क्रियाकलापप्रति असन्तुष्ट सिंह जीवनको उत्तरार्धमा राजनीतिक गतिविधिमा निष्क्रिय हुनुहुन्थ्यो । अविवाहित रहेका सिंह नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहका सहयोगी समेत रहेको र उहाँ चाक्सीबारीस्थित नेपाली कांग्रेसका नेता एवं उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहकै घरमा बस्तै आएको बताइएको छ । उहाँका एक भाइ र दुई बहिनी रहेको नेपाली कांग्रेस श्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *