प्रधानमन्त्री देउवाको प्रतिनिधि सभाको यात्रामा वी.पी. कांग्रेसका नेता कर्ण मल्ल तगारो

आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै जादा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको चुनावी भिडन्त रोचक बन्दै गएको देखिएको छ । यो जिल्लाबाट प्रतिनिधि सभाको निर्वाचनमा ईञ्जिनियरिङ पृष्ठभूमिका सागर ढकाल लगायतले उम्मेद्वारी दिएपनि प्रधानमन्त्री देउवा र उहाँका आफ्नै पूर्व सहकर्मी समेत रहेका नेपाली कांग्रेस (वी.पी.) का नेता कर्ण मल्ल मुख्य प्रतिस्पर्धी बन्ने देखिएको छ । करुवा

चुनाव चिन्ह लिएर उम्मेद्वार बनेका मल्ललाई नेकपा (एमाले) र नेकपा (एस) का स्थानीय नेता कार्यकर्ताहरु लगायतले समर्थन गरेपछि यो जिल्लाको चुनावी माहोल रोचक बन्दै गएको छ । मुलुकको ५औं पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई २०४८ सालदेखि २०७४ सालसम्म सम्पन्न प्रतिनिधि सभा , संविधान सभा र प्रतिनिधि सभाको निर्वाचनमा डडेलधुरा जिल्लाबाट रुख

चिन्हमा गतदान गराई लगातार जिताउन सहयोग गर्दै आएका कर्ण मल्ल यस पटकको निर्वाचनमा भने प्रधानमन्त्री देउवाको प्रतिस्पर्धी बन्नुभएको छ , जो प्रधानमन्त्री देउवाका लागि यस पटकको प्रतिनिधि सभाको यात्रामा तगारो बन्न सक्ने कतिपय जानकारहरुको भनाई छ । मल्लले मात्रै होइन नेपाली कांग्रेसका डडेलधुराका अरु दुई जना पूर्व सभापतिले पनि यस पटक देउवाको साथ छाडी मल्ललाई साथ दिएका छन् , जसले सत्ता गठबन्धनको साथ पाएका प्रधानमन्त्री देउवालाई थप चुनौती खडा गरेको छ । त्यही भएर होला प्रधानमन्त्री देउवासँगै नेपाली कांग्रेसकी नेता तथा प्रधानमन्त्री देउवा पत्नी आरजु राणा देउवा प्रधानमन्त्री देउवालाई जिताउन निकै मेहनत गरिरहनुभएको छ । देउवालाई पराजीत गरी आफ्नो प्रतिनिधि सभाको यात्रा तय गर्न मल्ल पनि चुनावी अभियानमा जोडतोडले लागिरहनुभएको छ । यो चुनावमा बाजी कसले मार्छ , त्यो त मंसिर ४ गतेको निर्वाचनले निधो गर्ने नै छ ।

गत वर्षसम्म नेपाली कांग्रेसमै रहेका कर्ण मल्ल डडेलधुरा जिल्लामा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लगायतका विषयमा विवाद उत्पन्न भएपछि त्यसलाई नेपाली कांग्रेसका सभापति देउवाको निगाहमा हस्तक्षेप भएपछि त्यसबाट असन्तुष्टि व्यक्त गर्दै त्यसलाई सच्याउन माग गरी ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना बस्नुभएको थियो तर धर्ना बस्तापनि आफ्नो माग पूरा नभएपछि निराश भएर उहाँ नेपाली कांग्रेस परित्याग गरी नेपाली कांग्रेस (वी.पी.) मा प्रवेश गर्नुभएको थियो । मल्ल नेता रहेको नेपाली कांग्रेस (वी.पी.)ले गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा डडेलधुरा जिल्लामा दुई वटा वडा जितेको छ । सो पार्टीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेको छ ।

Leave a Reply