मन्त्रीपरिषदको सिफारिसमा राष्ट्पति रामचन्द्र पौडेलले २०८१ असार ३१ गते नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रीपरिषदको बरियता निर्धारण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उप-प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह प्रधानमन्त्री ओली पछिको दोस्रो बरियतामा र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही अन्तिम बरियतामा रहेको उल्लेख छ । मन्त्रीपरिषदमा रहेका २ जना महिलामध्ये परराष्ट्र मन्त्री डा.आरजु राणा ७औँ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई १८औँ बरियतामा हुनुहुन्छ ।

ओली नेतृत्वको २२ सदस्यीय मन्त्रीपरिषदमा दलित तथा मुस्लिम समुदायको प्रतिनिधित्व हुन सकेको छैन ।
यस्तै नेपालको संविधान , २०७२ मा राज्यका सबै निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको व्यवस्था भएपनि ओली नेतृत्वको बर्तमान सरकारमा पनि पूर्ववर्ती सरकारमा झैं महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुन सकेको छैन ।
केन्द्र सरकारमा मात्रै नभई कुनै पनि प्रदेश सरकारमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व हुन सकेको छैन ।





