मोरङ क्षेत्र नं.३(क)मा लिम्बुको उम्मेद्वारी विरुद्ध नेपाली कांग्रेस भित्रै असन्तुष्टी

१ नं. प्रदेशका वन , वातावरण तथा भू संरक्षण मन्त्री तथा मोरङको क्षेत्र नं ३ को प्रदेश सभा क का नेपाली कांग्रेसका उम्मेद्वार शेखरचन्द्र थापाको बुधबार उपचारको क्रममा निधन भएपछि रिक्त रहेको सो क्षेत्रमा बेलबारी नगरपालिका -८ निवासी आफ्नो पार्टीका केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल विद्यार्थी संघका मोरङ जिल्ला कार्य समितिका पूर्व सभापति मानबहादुर लिम्बुलाई नेपाली कांग्रेसले आफ्नो उम्मेद्वार बनायो र लिम्बुले उक्त क्षेत्रका लागि निर्वाचन आयोगमा बिहीबार आफ्नो उम्मेद्वारी दर्ता गराउनुभयो तर त्यसको नेपाली कांग्रेस भित्र विरोध भयो । लिम्बुको उम्मेद्वारी विरुद्ध नेपाली कांग्रेसका असन्तुष्ट नेता कार्यकर्ताहरुले १ नं. प्रदेशका नि: बर्तमान वन , वातावरण तथा भू संरक्षण मन्त्री दिवंगत शेखरचन्द्र थापाकी श्रीमती लक्ष्मी कार्की थापालाई उम्मेद्वारी दिनु पर्नेमा त्यसो नगरेको भन्दै बिहीबार विरोध प्रदर्शन गरेका थिए ।

मंसिर ४ गते नै उक्त क्षेत्रमा पनि चुनाव गराउने भन्दै निर्वाचन आयोगले बिहीबार दिउसो १ बजेसम्मका लागि उम्मेद्वारी मनोनयन गर्ने समयसीमा तय गरेको थियो । त्यहाँको उम्मेद्वारको अन्तिम नामावली आज प्रकाशन गरी उम्मेद्वारलाई चुनाव चिन्ह पनि आजै प्रदान गर्ने जनाइएको छ । त्यस क्षेत्रमा नेपाली कांग्रेसका लिम्बु बाहेक नेकपा (एमाले)का दिलिप राई सहित ६ जना उम्मेद्वार चुनावी मैदानमा छन् ।

Leave a Reply