राष्ट्रपति निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धन भित्र हलचल पैदा भएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वारको विषयलाई लिएर नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली र प्रधानमन्त्री तथा नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच तिक्तता बढ्दै गएको र यही कारण बर्तमान सत्ता गठबन्धन टुट्ने खतरा बढेको कतिपय जानकारहरु बताउछन् ।
राष्ट्रपतिको उम्मेद्वारीको दौडाहामा नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल र लोसपाका अध्यक्ष महन्थ ठाकुर यतिबेला सतहमा देखिनुभएको छ । नेकपा (एस) र लोसपाका नेताहरु आ-आफ्ना पार्टीका अध्यक्षलाई राष्ट्रपतिको उम्मेद्वारमा दलीय समर्थनका लागि लविङ गरिरहेका छन् । त्यस्तैगरी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि राष्ट्रपति उम्मेद्वारको चर्चामा हुनुहुन्छ तर प्रतिनिधि सभामा ठूलो दल नेपाली कांग्रेस सहितका केही दलहरुको धारणा बाहिर आइसकेको छैन । नेपाली कांग्रेस र नेकपा (एमाले) आ-आफूले भनेका व्यक्तिलाई राष्ट्रपति बनाउन लागिपरेका छन् ।
यता आफूलाई अनुकूल हुने व्यक्तिलाई नेपालको राष्ट्रपति बनाउन शक्ति राष्ट्रका प्रतिनिधिहरुले पहल गरिरहेको जानकारहरु बताउछन् । भारतीय बुद्धिजीवी एस.डी. मुनीले त पूर्व सभामुख दमननाथ ढुंगाना , पूर्व मन्त्री देवेन्द्रराज पाण्डे , पूर्व राजदूत लोकराज बराल र पूर्व सहायक मन्त्री तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला मध्येबट नेपालको राष्ट्रपति बन्नु पर्ने सुझाव केही दिन पहिले ट्वीट मार्फत गरेका थिए ।
कतिपय राजनीतिज्ञहरु भने भारतीय विदेश सचिव विश्वमोहन क्वात्राले नेपाल भ्रमण गरेपछि राष्ट्रपतिको उम्मेद्वारको विषयले नेपालको राजनीतिमा थप तरङ पैदा भएको बताउछन् । विदेशको इच्छामा अहिले राष्ट्रपतिको उम्मेद्वारको चर्चामा रहेका या नरहेका व्यक्तिहरु मध्येबाट राष्ट्रपति बनेमा नेपालको राष्ट्रिय स्वाधिनता खतरामा पर्ने सक्ने भएकोले यसपछि नेपालको राष्ट्रिय स्वाधिनता र अग्रगमनको लागि नयाँ शिराबाट जन संघर्षको विकास हुने ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरु बताउछन् ।
नेपालको संविधान , २०७२ मा संवैधानिक राष्ट्रपतिको व्यवस्था भएपनि पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्रधान सेनापतिको र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकको विषयमा लिएको निर्णयले नेपालको राष्ट्रपतिको विषयमा सबैको ध्यान गएको विश्लेषकहरु बताउछन् ।





