राष्ट्रपति समक्ष निर्वाचन आयोगले बुझायो प्रतिनिधि सभा निर्वाचनको मत परिणाम विवरण

केही बेर अगाडि आयोजित कार्यक्रमका बीच निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम विवरण राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ र समानुपातिक तर्फका ११० सहित २७६ जना निर्वाचित सांहदहरुको नाम सहितको सो निर्वाचनको मत परिणाम राष्ट्रपति भण्डारीलाई बुझाउनुभयो । उक्त विवरण ग्रहण गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन लोकतन्त्रलाई सुदृढ गर्ने उत्तम माध्यम भएको भन्दै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यबाद ज्ञापन गर्नुभयो । उक्त अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भयरहित वातावरणमा निष्पक्ष र धाधलीरहित ढंगबाट सम्पन्न गरेको बताउनुभयो । उहाँले प्रत्यक्ष र समानुपातिक तर्फबाट गरी प्रतिनिधि सभामा ३३.१० प्रतिशत र प्रदेश सभामा ३३,३६ प्रतिशत महिलाको प्रतिनिधित्व भएको जानकारी दिनुभयो । ७ वटै प्रदेशका प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी ५५० जना उम्मेद्वार विजयी भएका प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई थियो ।

निर्वाचन आयोगले राष्ट्रपति समक्ष प्रतिनिधि सभा निर्वाचनको मत परिणामको विवरण बुझाएसँगै संघमा नयाँ सरकार गठन र संघीय संसद अधिवेशन आह्वानको प्रक्रिया अगाडि बढ्ने छ ।

यता निर्वाचन आयोगले प्रदेश सभा निर्वाचनको मत परिणाम सात वटै प्रदेश प्रमुखलाई आउदो पुस २ गते बुझाउने जनाएको छ । प्रदेश प्रमुखहरुलाई निर्वाचन आयोगले प्रदेश सभा निर्वाचनको मत परिणामको सहितको विवरण बुझाएपछि प्रदेशहरुमा सरकार गठन र प्रदेश सभाको अधिवेशन आह्वानको प्रक्रिया अगाडि बढ्ने छ ।

Leave a Reply