विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा र महासचिवमा रञ्जु दर्शना चयन

हिजोबाट शुरु भएको विवेकशील साझा पार्टीको प्रथम महाधिवेशनबाट सो पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा र महासचिवमा रञ्जु दर्शना सहित पदाधिकारीहरु सर्वसम्मत चयन भएको बताइएको छ । उक्त पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय हुने जनाइएको छ । सो पार्टीको उपाध्यक्षमा मिलन पाण्डे , प्रकाश परियार र विमला अधिकारी , सचिवमा विमला तामाङ , पवित्रा थापा र समुद्र के..सी. तथा कोषाध्यक्षमा दामोदर नेपाल चयन हुनुभएको छ ।

उक्त महाधिवेशनको उद्घाटन सत्रमा मन्तव्य व्यक्त गर्दै अध्यक्ष बास्कोटाले वैकल्पिक शक्ति निर्माणको लागि छरिएर रहेका राजनीतिक समूहहरु एकजुट हुनु पर्नेमा जोड दिनुभएको थियो । त्यस महाधिवेशनको उद्घाटन सत्रलाई नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई , नेकपा (एस)का नेता घनश्याम भुसाल , सुशासन पार्टीका अध्यक्ष रमेश खरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो पार्टी छाडेर राप्रपामा प्रवेश गरेका उक्त पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र र नेता मिलन पाण्डे बीच लामो समयसम्म निकै ठूलो अन्तरविरोध चलेको थियो , जसका कारण नवनिर्वाचित महासचिव रञ्जु दर्शना सहितले उक्त पार्टी परित्याग गरेका थिए । त्यही अन्तर विरोधका कारण राजतन्त्र र हिन्दू धर्म पक्षधर रहेका पूर्व अध्यक्ष मिश्र पनि त्यो पार्टी परित्याग गरी राप्रपा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *