सरकारले कृषकलाई तुरुन्त मलको व्यवस्था गरोस् : अनेकियू अध्यक्ष जोशी

काठमाडौं/ अखिल नेपाल किसान यूनियनका अध्यक्ष रत्नप्रसाद जोशीले धान रोप्न शुरु गरेका कृषकहरुले यसबेलासम्म मल खरीद गर्न नपाउनु दु:खद भएको भन्दै कृषकहरुलाई तुरुन्त आवश्यक मलको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्नु भएको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहनु भएका जोशीले अलगपथसँग कुरा गर्दै कृषकहरुले खेती लगाउने बेलामा मल र बीउको अभाव र बाली पाकेर विक्री गर्ने बेलामा आफूले उत्पादन गरेको जिनिसको सही मुल्य नपाउने समस्या बिगत लामो समयदेखि झेल्दै आएका छन् र अहिले त धान रोप्ने बेलामा डिजेलको प्रति लीटर १२ रुपैयाको दरले मुल्य बढ्दा खेत जोत्ने ट्याक्टरको महशुल थप बढेकाले कृषकहरु झन मारमा परेका छन् तर सरकार भने कृषकका समस्या समाधान गरी उत्पादन बृद्धि गर्नेतिर नभई कृषकहरुलाई झन समस्यामा धकेलेर देशलाई थप परनिर्भरताको बाटोमा लगिरहेको व्यवहारमा देखिएको छ भन्दै त्यसको विरोध गर्नुभयो ‌। ‘ देशमा राजनीतिक परिवर्तन त भयो तर त्यसको ठीक विपरीत उत्पादनमा प्रत्यक्ष जोडिएका श्रमजीवी कृषक लगायतको जीवनस्तर भने खस्किरहेको छ अनि कसरी हुन्छ देशको समृद्धि र विकास ? त्यसैले राज्यले देशमा उत्पादन बढाएर देशलाई समृद्ध र आत्मनिर्भर बनाउन उत्पादनसँग जोडिएका कृषक लगायतका समस्या अविलम्ब समाधान गर्नुपर्छ’, उहाँको भनाई छ । उहाँले जनतालाई सास्ती हुने गरी भएको बजार मुल्य अविलम्ब नियन्त्रण गर्न र देशलाई हानी/नोक्सानी हुने कुनै पनि कार्य नगर्न सरकारलाई सचेत गराउनुभयो ।

कृषकहरुलाई अबिलम्ब मल उपलब्ध गराउन सांसदहरुले संसदमा माग गरिरहेका छन् भने विभिन्न राजनीतिक दल तथा संघ/संगठनले कृषकहरुलाई चाडो मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् तर सरकारले यसबेलासम्म कृषकहरुलाई मल उपलब्ध गराउने सुनिश्चितता गर्न नसकेको जानकारहरु बताउछन् ।

Leave a Reply