५ ट्रेड युनियन महासंघले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव बहिस्कार गर्ने

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट निस्कने परिणाम घोर प्रतिक्रियावादी तथा राष्ट्रिय स्वाधीनता ,जनतन्त्र र जनजीविका एवं श्रमिकहरुको हित विरुद्ध हुने भन्दै अखिल नेपाल ट्रेड युनियन महासंघ , क्रान्तिकारी ट्रेड युनियन महासंघ , अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र वैज्ञानिक समाजवादी ट्रेड युनियन महासंघले संयुक्त रुपमा सो निर्वाचन बहिस्कार घोषणा गरेका छन् । सोमबार संयुक्त ट्रेड युनियन संघर्ष समितिले काठमाडौंमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनीहरुले सो घोषणा गरेका हुन् । उक्त पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव राजकुमार थापाले राजनीतिक दलहरुकै कारण मजदुरहरु विभाजीत हुनु परेको भन्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका ६० लाख भन्दा बढी मजदुरहरुका लागि मतदानको व्यवस्था नभएको र यस निर्वाचनमा मजदुर वर्गको प्रतिनिधित्व हुने व्यवस्था नभएकोले आफूहरुले यो निर्वाचन बहिस्कार गर्नु पर्ने अवस्था आएको बताउनुभयो । यसैगरी सोही पत्रकार सम्मेलनमा बोल्दै क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष राजन तिमिल्सिनाले देश अत्यन्तै संकटग्रस्त अवस्थामा गुज्रिरहेको कारण मुलुकमा रोजगारी श्रृजना गर्न र व्यापार व्यवसायहरु बढाउन नसकेको र श्रमिकहरुको अवस्था नाजुक बन्दै गएको बेला शासक वर्गले देखाइरहेको कथित निर्वाचनको नाटक शसक्त ढंगबाट बहिस्कार गर्नु पर्ने बताउनुभयो । त्यस्तैगरी त्यसै आवसरमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष बिनोद थापाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नेपाली जनताको हितमा नहुने भएकोले यसलाई बहिस्कार गर्नु परेको बताउनुभयो । विगत ३० वर्षदेखि हाम्रो देशमा दलाल राजनीतिक व्यवस्था कायम रहेकाले एमसीसी , एसपीपी जस्ता राष्ट्रघात र जनघात भएको उहाँको भनाई थियो । त्यसैगरी अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन ७ वटा राजनीतिक दलले बहिस्कारको घोषणा गरेको प्रसङ्ग उल्लेख गर्दै यस निर्वाचनले दलाल पूँजीपति वर्गको राज्यसत्तालाई बलियो बनाउने र जन अधिकारलाई कमजोर बनाउने भएकोले यो निर्वाचन बहिस्कार गर्नु पर्ने बताउनुभयो । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव बशन्त बोगटीले सञ्चालन गरेको त्यस पत्रकार सम्मेलनमा वैज्ञानिक समाजवादी ट्रेड युनियनका प्रतिनीधि टीका घिमिरेले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचन जनताको हितमा नरहेकोले त्यसलाई शसक्त बहिस्कार गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply