८३ वर्षको उमेरमा बरिष्ठ अधिवक्ता समेत रहेका पूर्व सभामुख तथा नागरिक समाजका अगुवा दमननाथ ढुंगानााको आज दिउँसो २ बजे उपचारका क्रममा निधन भएको छ । कलेजोको समस्या झेलिरहेका ढुंगाना विहानसम्म कुरा गरिरहेको भएपनि दिउसो १२:०० बजेतिर स्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई उपचारका लागि काठमाडौंको मध्यबानेश्वरस्थित फ्रण्टलाइन हस्पिटलमा पु-याएको र उपचारका क्रममा उहाँको त्यहाँ निधन भएको उहाँको पारिवारिक श्रोतले जनाएको छ ।
पञ्चायत विरुद्ध नेपाली कांग्रेसमा रहेर राजनीतिक र कानुनी मोर्चाबाट लडाई लड्दै आएका ढुंगाना २०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं.२ बाट संयुक्त जनमोर्चाका उम्मेद्वार मल्ल के सुन्दरलाई पराजित गरी निर्वाचित हुनुभएको थियो । २०४८ देखि २०५१ सालसम्म प्रतिनिधि सभाको सभामुख बन्नुभएको थियो उहाँ । २०५१ सालमा काठमाडौं क्षेत्र नं. र २०७४ मा भक्तपुर क्षेत्र नं.२ मा नेपाली कांग्रेसले उम्मेद्वार बनाएपनि उहाँ पराजित हुनुभयो । वकालत र मानव अधिकारको क्षेत्रमा क्रियाशील ढुंगानाले २०६२/०६३ को जन-आन्दोलन सफलतामा पु-याउन पद्मरत्न तुलाधर लगायतसँगै नागरिक समाजको अगुवाई गरेर महत्वपूर्ण योगदान गर्नुभएको थियो । उहाँले राज्य पक्ष र सशस्त्र विद्रोह गरिरहेको नेकपा (माओवादी) वीचको बार्तामा सहजकर्ताको भूमिका निर्वाह गर्नु्को थियो ।





