राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (एमाले)की विमला घिमिरे निर्वाचित

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (एमाले)की उम्मेद्वार विमला घिमिरे निर्वाचित हुनुभएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा भएको मतदानमा नेकपा (माके), नेकपा (एमाले), नेकपा (एस) र जनता समाजवादी पार्टी , नेपालका गरि ३९ जना सांसदको मत पाएर घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी विष्णुदेवी पुुडासैनीले नेपाली कांग्रेस र लोसपाका गरि १६ सांसदको मत पाउनुभयो । राष्ट्रिय सभाको आजको बैठकमा ५५ जना सांसदको उपस्थिति रहेको बताइएको छ ।

अहिले सत्ता गठबन्धनमा आबद्ध दलहरु बीच भागबण्डा हुदा राष्ट्रिय सभाको उपाध्यक्ष नेकपा (एमाले)लेलिने सहमती अनुरुप नेकपा (माके)को तर्फबाट निर्वाचित राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले यही चैत्र १५ गते राजिनामा दिएपछि सो पद रिक्त बनेको थियो ।

राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष घिमिरे २०७६ सालमा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँको अब २ वर्ष कार्यकाल बाँकी छ ।

२०२९ साल साउन १२ गते कपिलबस्तुमा जन्मेकी घिमिरे २०४६ सालबाट बाम राजनीतिमा जोडिनुभएको बताइएको छ । उहाँले २०४७ सालमा नेकपा (एमाले)को संगठित सदस्यता पाउनुभएको थियो । त्यसयता उहाँले अनेम संघसहित नेकपा (एमाले)ले प्रदान गरेको जिम्मेवारी बहन गर्दै आउनुभएको जानकारहरु बताउछन् ।

Leave a Reply