काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साझ सम्पन्न ७औं संस्करणको साफ वुमन्स च्याम्पियनसीप फुटबलको दोस्रो सेमी-फाइनल खेलमा भुटानी रेेफ्री ओम चुकीले गरेको पक्षपातका बाबजुद पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले भारतलाई पराजित गरि नेपाल फाइनल प्रवेश ग-यो । खेलको पहिलो हाप गोल रहित बराबरीमा सकिएपनि दोस्रो हापमा भने दुबै टोलीले १/१ गोल गरे । खेलको ७२औं मिनेटमा भारतकी संगिता बास्फोराले आकर्षक गोल गरिन । भारतीय खेलाडीहरुले सो गोलको खुसी सेलिब्रेसन सकिन नपाउदै रेफ्रीले सिट्ठी बजाएर खेल शुरु गर्नासाथ नेपालकी सावित्रा भण्डारी ‘साम्बा’को पासमा प्रीति राईले गोल गरेपछि आफूहरु पोजिसनमा फर्की नसकेको भन्दै त्यसको भारतीय पक्षले विरोध गरेपछि रेफ्रीले नेपालको उक्त गोललाई मान्यता नदिने निर्णय गरिन् । जसका कारण त्यसको नेपाली पक्षले विरोध जनाएपछि केहीबेर खेल रोकियो । समझदारीपछि खेल शुरु हुनासाथ नेपालकी प्रीति राईको पासमा सावित्रा भण्डारी ‘साम्बा’ले आकर्षक गोल गरिन् । निर्धारित ९० मिनेटमा दुबै टोलीले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा नेपालका सावित्रा भण्डारी ‘साम्बा’, गीता राना, सविता राना मगर र अमिषा कार्कीले गोल गरेका थिए तर भारतका मनिषा कल्याण र सिर्बोटर गरी दुई खेलाडीको प्रहार गोलमा परिणत भएपनि आसलता देवीको प्रहार पोष्ट लागेर फर्कियो भने चानु सोरो खैबाङको प्रहार नेपालकी गोलकिपर अञ्जना राना मगरले रोक्न सफल भएकी थिइन ।
यो खेलमा सावित्रा प्लेयर अफ द म्याच भइन् ।

खेलको ३७औं मिनेटमा नेपाली स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले गरेको प्रहार भारतीय खेलाडीले हातले रोकेपछि पेनाल्टीका लागि नेपालले गरेको अपील रेफ्रीले अस्वीकार गरेपछि केहीबेर परिस्थिति असहज बनेको थियो । यस्तै खेलको ५१औँ मिनेटमा बलमा ट्याकल गर्दा घाइते भएकी नेपालकी स्टार स्ट्राइकर रेखा पौडेललाई उल्टै दोहोरो पहेलो कार्डसँगै रातो कार्ड दिएर मैदान बाहिर पठाएपछि १० खेलाडीमा नेपाल सिमित भएपछि त्यसको दर्शक दीर्घाबाट पनि विरोध भएको थियो ।
यो प्रतियोगिताको समूह चरणको पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले माल्दिभ्सलाई ११-० र श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गरि समूह विजेता बनेर नेपाल सेमी-फाइनल प्रवेश गरि अर्को समूहको उप-विजेता भारतसँगको भेट पक्का गरेको थियो ।
यता आइतबार नै दशरथ रंगशालामा सम्पन्न पहिलो सेमी-फाइनलमा भुटानलाई ७-१ गोल अन्तरले पराजित गरी बंगलादेश फाइनल प्रवेश गरेको थियो ।





