लोकेश्वर साकोसको अर्ध-वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको आर्थिक वर्ष २०८०/०८१ को अर्ध-वार्षिक समीक्षा कार्यक्रम साविक भक्तपुर नगरपालिका वडा नं.१५ का पूर्व वडा अध्यक्ष एवं समाजसेवी रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा आज सम्पन्न भयो । उक्त अवसरमा सो संस्थाको विविध गतिविधि सामावेश भएको लोकेश्वर दपर्ण सार्वजनिक गर्दै प्रमुख अतिथि खर्बुजाले सहकारी संस्थाहरुले समय समयमा यस्तै विभिन्न कार्यक्रमहरु गर्दै जानुपर्ने र यस्ता कार्यक्रहरुबाट मात्रै संस्थाको अवस्थाको बारेमा सदस्यहरुले ज्ञान प्राप्त गर्न सक्ने बताउनुभयो । उहाँले सहकारीभित्र रहेका कमीकमजोरीहरुलाई औंल्याउदै चुनौति र अवसरहरुलाई चिन्नुपर्ने विचार व्यक्त गर्नुभयो । देशको अहिलेको अवस्था चिन्ताजनक रहेको भन्दै उहाँले पछिल्लो अवस्थामा सातै वटा प्रदेशमा विनियोजित बजेट अनुसार संघीय सरकारबाट विकास निर्माणका कार्यमा खर्च गर्न नसक्नुले अहिलेको सरकार झन धेरै असफल सरकार रहेको पुष्टि हुने धारणा व्यक्त गर्नुभयो । नयाँ पुष्टा (पुस्ता)ले देशको अहिलेको अवस्थाबारे जानकारी राख्नु पर्ने विचार व्यक्त गर्दै उहाँले सहकारीबाट यस्ता विषयसँग सम्बन्धित कुराहरु जनसमुदायमा पु-याउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं.२ का वडा सदस्य श्यामसुन्दर मातांले देशको विग्रन्दो राजनीतिक अवस्थाका कारण मुलुकको संवेदनशील र विशिष्ट पदहरुमा पनि पार्टीगत हितका लागि आफ्ना व्यक्तिहरुलाई राख्ने प्रवृतिले पदको दुरुपयोग गरी वास्तविक दोषीलाई उन्मुक्ति दिने कार्य भएको , जसले गर्दा देश झन झन विग्रन्दै गएको विचार व्यक्त गर्नुभयो । उहाँले देशमा अहिले दक्ष जनशक्तिका रुपमा रहेका युवा पुष्टा(पुस्ता)हरु विदेशिदै गएको, भष्टाचार र अराजक्ता बढ्दै गएको जस्ता कुराहरुबाट देश श्रीलङ्काको अवस्थामा पुग्न लागेको हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो । उहाँले भक्तपुर नगरपालिकाले सञ्चालन गरेको देको मिवा इतापाको एकीकरण योजनाको पछिल्लो जग्गा फिर्ताको अवस्थाको बारेमा चर्चा गर्दै सोमा देखिएका समस्या र समाधानका उपायहरुको बारेमा प्रकाश पार्नुभयो । उहाँले भक्तपुर नगरपालिकाले स्वास्थ्य सम्बन्धी गतिविधि अन्तर्गत हाल भक्तपुर नगरमा ९ वर्षदेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा र रुबेला सम्बन्धी खोप दिने कार्यक्रम विद्यालयस्तरीय रुपमा सञ्चालन गरिदिन लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा लोकेश्वर बचत तथा ऋण संस्था लि.का अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष राजन जतिले हाम्रो यस संस्थाले स्थापनाकालदेखि नै सदस्यहरुलाई पारदर्शी रुपमा विभिन्न गतिविधिहरुको बारेमा विभिन्न कार्यक्रमहरु मार्फत जानकारी दिदै आएको बताउनुभयो । उहाँले सहकारीहरुको हाल समस्याग्रष्ट(समस्याग्रस्त) भएको अवस्थामा पनि यस संस्थाले निरन्तर रुपमा सदस्यहरुो हित र प्रगतिलाई मध्यनजर गरि वित्तीय कारोबार मात्रलाई नभइ सदस्यहरुको माग अनुसार सामाजिक उत्तरदायित्व बहन गर्ने किसिमका कार्यहरु गर्दै आएको , जसले सामाजिक रुपान्तरण तथा सदस्यहरुको जीवनस्तर सुधारमा अहम् भूमिका खेलेको र आगामी दिनहरुमा पनि यस्ता कृयाकलापहरुलाई निरन्तरता दिदै जाने विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा त्यसै संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवालले लेखा प्रतिवेदन, सचिव राजु छुकांले संस्थाको अर्ध- वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै विभिन्न उप-समितिबाट आ-आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गर्रिएको थियो । कार्यक्रममा सोही संस्थाका प्रबन्धक प्रशान्त मानन्धर र लेखापाल शर्मिला मानन्धर लगायतले पनि आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम झलक

Leave a Reply