लोकेश्वर साकोसको सत्रौं बार्षिक साधारण सभा सम्पन्न

भक्तपुर नगरपालिका-२,इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सत्रौं बार्षिक साधारण सभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यतामा आज सम्पन्न भयो । प्रमुख अतिथि गोसाईले उक्त संस्थाका बाल सदस्यहरुको सुमधुर बासुरीको धुनका साथ पानसमा दीप प्रज्वलित

गरी साधारण सभाको समुद्घाटन गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि

गोसाईले उद्घाटन मन्तव्य व्यक्त गर्दै सहकारी संस्था समाजको अभिन्न अंगको रुपमा विकास भइरहेकोले सहकारीबाट सुव्यवस्थित एवं समुन्नत समाज निर्माणमा भूमिका खेल्नु पर्ने आवश्यकता औल्याउनुभयो । सहकारी एउटा देश विदेशका आर्थिक, राजनीतिक एवं सास्कृतिक शिक्षा प्राप्त गर्ने दबु भएकोले यसबाट सम्पूर्ण सदस्यहरुले लाभ लिनु पर्ने बताउदै उहाँले सहकारी र बैंकको भिन्नतालाई औल्याउदै बैंक एक पूजीपति तथा ठुला व्यापारीहरुको हितको लागि खोलिएको संस्था भएको र सहकारी समाजको व्यापक एवं चौतार्फी हितका लागि कार्य गर्ने संस्थाको रुपमा रहेको स्पष्ट पार्नुभयो । राजनीतिको महत्वबारे पुष्ट्याउदै उहाैले ‘हामी सर्वसाधारण जनताको घरमा चुलो बाल्न समेत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय राजनीतिक घटनाक्रमले असर पार्ने हुदा हामीले त्यस्ता बिषयमा जानकारी राख्न र बुझ्न आवश्यक छ’, भन्नुभयो । पूँजीवादी देशहरुले गरेका अमानविय युद्ध अपराधले सिङगो विश्वका सर्वसाधारण जनताको जीवनयापनमा असर गरेको चर्चा गर्दै प्यालेष्टाइन, लेवनान र युक्रेनको युद्धमा मलजल गर्ने तथा समाजवादी देशहरुमा गरेको नाकाबन्दीको निन्दा गर्नुभयो । नयाँ पुष्टालाई सबै किसिमको क्षेत्रमा सवल एवं सक्षम बनाइ आत्मविश्वस बढाउने गरी विकास गर्नुपर्ने बताउदै हामीसँग भएका सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पुरातात्विक विषयमा गौरवान्वित हुन सिकाउनु पर्नेमा ज‍ोड दिनुभयो । सहकारीले समाजको साँस्कृतिको विकास गर्नमा टेवा पु-याउन युवा पुस्तालाई जीवन उपयोगी शीपमूलक तालिमहरु दिई देशलाई नै आत्मनिर्भर बनाउन योगदान दिनुपर्ने खाँचो औल्याउनुभयो । भक्तपुर नगर एक ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको नगरका रुपमा स्थापित रहेकोले उक्त कला, संस्कृति, मूर्तअमूर्त सम्पदा तथा भाषालाई संरक्षण गर्दै पुस्तान्तरण गर्नु पर्ने बताउनुभयो ।
त्यसैगरी साविक भक्तपुर नगरपालिका १५ नं. वडाका पूर्व वडा अध्यक्ष रविन्द्र खर्बुजाले सहकारीमा अहिले भइरहेको विद्यमान विकृति र विसङ्गतिलाई विस्तारै हामीले बुझदै आगामी दिनहरुमा थप सजग रहनु पर्ने बताउदै देशको वर्तमान अवस्थाबारे विभिन्न पत्रपत्रिकामा आएका लेख रचनामाथि समीक्षा गर्नुभयो । उहाँले सदस्यले सहकारी संस्थामा निर्वाह गर्नुपर्ने काम कर्तव्यको भूमिकालाई विर्सन नहुने तथा सञ्चालकहरुले पनि स्वमूल्यांकन गर्नुपर्ने खाँचो औल्याउनुभयो ।
यस्तै सोही संस्थाका संस्थापक अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं. २ का वडा सदस्य श्याम सुन्दर मातांले भक्तपुर नगरमा सहकारी क्षेत्रको सुधारका लागि भक्तपुर नगरपालिकबाट नियमित रुपमा सहकारी संस्थाहरुको अनुगमन गर्दै आएको जानकारी दिनुभयो । साथै सरकारबाट विभिन्न चरणमा गठन गरेका उच्चस्तर छानविन समितिका प्रतिवेदनबाट प्राप्त सुझावहरु यथाशीघ्र सुधारका लागि लागु गर्न खुट्टा कमाउन नहुनेमा जोड दिनुभयो ।
त्यस्तैगरी भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.की प्रतिनिधि निर्मला सुवालले संघको आवश्यकता र निर्वाह गरेका भूमिका माथि प्रकाश पार्नुभयो ।

त्यसै संस्थाका अध्यक्ष राजन जतिको अध्यक्षतामा भएको उक्त साधारण सभामा मित्र साकोसहरुको तर्फबाट सिद्धि गणेश साकोसका प्रतिनिधि सपना कवां र संगम साकोसका प्रतिनिधि विजय लोहलाले शुभकामना मन्तव्य व्यक्त गर्दै सो संस्थाले सदस्यहरुलाई प्रवाह गरिरहेको सेवाप्रति प्रशन्नता व्यक् गर्दै यसको थप प्रगतिको कामना गर्नुभयो । लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मीभक्त दुवाल, सचिव राजु छुकां र कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको त्यस साधारण सभामा त्यसै संस्थाका उपाध्यक्ष प्रनेश बाटी र प्रबन्धक प्रशान्त मानन्धरले संस्थाको गतिविधि बारेमा प्रकाश पार्नुभयो । साधारण सभामा अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै संस्थाका जेष्ठ सदस्यहरु, माध्यामिक तह ( कक्षा १२) उत्तीर्ण विद्यार्थीहरु, असल नियमित बचतकर्ता, असल ऋणी तथा असल बाल सदस्यहरुलाई सम्मान गरियो भने संस्थाबाट आयोजित बोल्ड टेक्स राइटिङ (Bold Tex writing) प्रतियोगिताका विजयी प्रतियोगिहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

संस्थाको लेखा सुपरीवेक्षण समिति, बाह्य लेखा परीक्षणको प्रतिवेदन, बार्षिक प्रगति प्रतिवेदन, आगामी बर्षको अनुमानित बार्षिक बजेट र भावी नीति तथा कार्यक्रमहरु पारित भएको साधारण सभाको बीचबीचमा सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरियो । संस्थाका कुल सदस्यहरु मध्ये ८८।७४ प्रतिशत सदस्यहरुको उपस्थितिमा साधारण सभा सम्पन्न भएको थियो ।

……………………………………………………………………………………………

Leave a Reply

Your email address will not be published. Required fields are marked *