लोकेश्वर साकोसको सुत्केरी मसला बनाउने तालिम सम्पन्न

भक्तपुर/ भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोेजनामा यही असार १८ गते शनिबार १००औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सोही संस्थाका महिला सदस्यहरुको सहभागितामा एक दिवसीय सुत्केरी मसला बनाउने तालिम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजन जतिले तालिमको औपचारिक कार्यक्रममा मन्तव्य व्यक्त गर्दै हाम्रो यस लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.ले ऋण र बचतको कारोबार सँगसँगै सामाजिक सेवा र सदस्यहरुलाई विभिन्न सीपमूलक तालिमहरु पनि सञ्चालन गर्दै आइरहेको बताउनुभयो । उहाँले हाम्रो यस सहकारी संस्थाले स्थानीय समुदायमा आधारित रही आफ्ना सदस्यहरुको आर्थिक एंव सामाजिक र सांस्कृतिक स्तर उकास्न निरन्तर लागिरहेको जानकारी दिनुभयो ।

उक्त संस्थाको महिला उपसमितिकी संयोजक लक्ष्मीश्वरी मातांको अध्यक्षतामा सञ्चालित सो तालिममा स्थानीय ४० जना महिला सदस्यहरुको सहभागिता रहेको थियो । यो सुत्केरी मसला बनाउने तालिम साह्रै प्रभाबकारी रहेको त्यसै तालिमकी प्रशिक्षार्थी महिला दुवालले बताउनुभयो भने सोही अवसरमा त्यस समितिका सदस्य सरिता खुसु र प्रशिक्षक जगतलक्ष्मी दुवालले पनि आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Leave a Reply