भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १९औं स्थापना दिवसको अवसरमा सहकारीमा देखिएका वित्तीय अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रम भक्तपुर नगरपालिकाको साविक १५ नं. वडाका पूर्व अध्यक्ष एवं सोही संस्थाका संस्थापक रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा २०८० पुस १४ गते शनिबार सम्पन्न भयो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अनिथि खर्बुजाले सहकारीले आर्थिक क्रान्तिसँगै समाजमा वित्तीय साक्षारता पनि अगाडि बढाउदै लानुपर्ने विचार व्यक्त गर्नुभयो । विभिन्न समाजवादी देशहरुले आर्थिक क्रान्तिको जग सहकारी मार्फत बसालेको चर्चा गर्दै उहाँले नेपालको परिवेशमा पनि त्यो सम्भव भएको विचार बताउनुभयो । उहाँले अहिले देश झनझन पूँजीबादीहरुको चंगुलमा फस्दै गएकोमा चिन्ता व्यक्त गर्दै देशभक्तहरु सबै एकजुट भएर देश विकासमा लाग्नुपर्ने खाँचो औँल्याउनुभयो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सो संस्थाका संस्थापक अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं. २ का वडा सदस्य श्यामसुन्दर मातांले देश संघीय संरचनामा गएपछि सहकारी स्थानीय तहको मातहतमा आएकोले सोही अनुरुप भक्तपुर नगरपालिकाले नियमित अनुगमन र नीति नियमहरु निर्माण गर्दै ल्याएको बताउनुभयो । स्थानीय जनताको स्वामित्व तथा सामाजिक उत्तरदायित्व बहन नगरेको सहकारीमा धेरै समस्या एवं सञ्चालक/प्रबन्धक भाग्ने प्रवृति बढेकोले सबै चनाखो हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । साथै उहाले भक्तपुर नगरपालिकाले गरेका विभिन्न विकास निर्माण र गतिविधिहरुको बारे पनि चर्चा गर्नुभयो ।
त्यसै संस्थाका अध्यक्ष्ँ राजन जतिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष रामसुन्दर सुवालले यस संस्थाले सदस्यहरुलाई संस्थाको वित्तीय जानकारी नियमित रुपमा दिदै आएकोमा खुसी व्यक्त गर्नुभयो । उक्त संस्थाका कोषाध्यक्ष पुण्यराम स्वंगमिखाले संस्था स्थापनाकालदेखिका आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा छलफल गरि सहभागी सदस्यहरुसँग सुझावहरु संकलन गरिएको थियो । कार्यक्रममा सचिव राजु छुकां र प्रबन्धक प्रशान्त मानन्धर लगायतले पनि आ-आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।
यसैगरी सो संस्थाको १९औँ स्थापना दिवसकै अवसरमा सो संस्थाको स्वास्थ्य उप-समितिको आयोजनामा रक्तदान तथा नाक, कान र घाटी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर इताछें गणेश मन्दिर परिसरमा सम्पन्न भयो । शिविरको औपचारिक कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सोही संस्थाका अध्यक्ष राजन जतिले

यस संस्थाले स्थापनाकालदेखि नै समुदायमा आधारित भएर विभिन्न गतिविधि गर्दै आएको बताउनुभयो । उहाँले यो संस्थाको स्थापना दिवसको अवसर पारेर विगतका बर्षहरुदेखि निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको विचार व्यक्त गर्नुभयो ।
गैह्र समुदायमा आधारित सहकारीको नाफामुखी तथा लुटतन्त्रले अहिले जनताको पैसा सुरक्षित नभएको सहकारी चिनेर मात्र आफ्नो बचत जम्मा गर्न जनसमुदायमा अनुरोध गर्दै उहाँले समुदायमा आधारित सहकारी संस्थाको महत्व भनेकै वित्तीय कारोबारका अलावा विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्दै सुसुचित गर्नु रहेकोले सोही अनुरुप गर्नु पर्ने खाँचो औल्याउनुभयो ।
ख्वप अस्पतालको प्राविधिक सहयोगमा भएको नाक, कान, घाटी सम्बन्धी त्यस निःशुल्क स्वास्थ्य शिविरमा ७६ जनाले सेवा लिई लाभान्वित भए ।

यस्तै नेपाल रेडक्रस सोसाइटी, भक्तपुरको प्राविधिक सहयोगमा भएको उक्त रक्तदान कार्यक्रममा ३८ जना रक्तदाताले रक्तदान गरेको जानकारी आयोजक स्वास्थ्य उप-समितिका संयोजक प्रज्वल खत्रीले दिनुभयो ।


यो संस्थाको १९औं स्थापना दिवसकै अवसरमा यही पुस २६ गतेदेखि २८ गतेसम्म अन्तर सहकारी १९ वर्ष मुनिको महिला एकल ब्याडमिण्टन प्रतियोगिता-२०८० (Girl’s Single U19 Badminton Competition-2080) हुने जानकारी उक्त संस्थाका प्रबन्धक प्रशान्त मानन्धरले दिनुभयो ।





