ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वार्ता र छलफलबाट इजरायल-इरान युद्ध, रुस-युक्रेन युद्ध लगायतका दुनियाँमा चलिरहेका युद्ध अन्त गर्नु पर्नेमा जोड दिएको छ । सो पार्टीका उपाध्यक्ष रामबहादुर भण्डारीले इजरायल-इरान युद्ध, रुस-युक्रेन युद्ध लगायतका दुनियाँमा चलिरहेका युद्धहरु वार्ता र छलफलबाट अन्त गर्नु पर्ने बताउनुभयो । अलगपथसँग संंक्षिप्त कुरा गर्दै उपाध्यक्ष भण्डारीले उत्पीडित वर्ग र समुदाय तथा उत्पीडित राष्ट्रले गरेका न्यायपूर्ण संघर्ष/आन्दोलनको भने नेपाल कम्युनिष्ट पार्टीले समर्थन गर्दै आएको बताउनुभयो ।
इजरायल-इरान युद्ध चलिरहेको बेला गत शनिबार संयुक्त राज्य अमेरिकाले एकाएक इरानमाथि शक्तिशाली हवाई हमला गरेपछि त्यस कार्यको सो पार्टी सहितका नेपालका विभिन्न कम्युनिष्ट पार्टी तथा समूहले संयुक्त प्रेस विज्ञप्ति जारी गरि विरोध गरेका थिए ।

संयुक्त राज्य अमेरिकाको उक्त कार्य विरुद्ध उनीहरुले २०८२ असार ११ गते बुधबार काठमाडौंको माइतीघरमणणडलादेखि विजुलीबजारसम्म संयुक्त विरोध प्रदर्शन गर्ने योजना बनाएका थिए तर सो विरोध कार्यक्रम रद्ध गरि २०८२ असार ११ गते नै सोही युद्धको विषयलाई लिएर नेकपा(माके), विप्लव नेतृत्वको नेकपा सहितका दलहरुले काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा संयुक्त अन्तर्क्रिया कार्यक्रम आयोजना गरेपछि भने त्यस कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी सहभागी नहुने उपाध्यक्ष भण्डारीको भनाई छ ।





