विकास खड्काको अध्यक्षतामा सञ्चालक समिति चयन गर्दै गाम्चा साकोसको वार्षिक साधारण सभा सम्पन्न

पुन: विकास खड्काको अध्यक्षतामा सञ्चालक समिति सर्वसम्मत रुपमा चयन गर्दै गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सो सञ्चालक समितिको उपाध्यक्षमा देवलाल राजथला , सचिवमा विदुर खड्का ,कोषाध्यक्षमा सुशिल खड्का तथा सदस्यमा यादवबहादुर खड्का , मणिराज खड्का र सोविता खतिवडा हुनुहुन्छ । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा सविता भट्टराई तथा सदस्यमा कला रेग्मी र दिनेश थापा चयन हुनुभएको छ ।

श्री अरनिको मा.वि. गाम्चामा सम्पन्न उक्त साधारण सभाको नेकपा (एमाले)का नेता तथा भक्तपुर क्षेत्र नं.२ का सांसद महेश बस्नेतले उद्घाटन गर्नुभयो ।

सो अवसरमा उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले गाम्चा साकोसले समाज परिवर्तनमा महत्वपूर्ण योगदान गरेका गाम्चाबासीको विरासत धान्ने गरी राम्रो काम गरिरहेको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । सोही अवसरमा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले राम्रो सँग अगाडि बढिरहेको गाम्चा साकोसले सूर्यविनायक नगरपालिकामा उत्पादन बृद्धि गर्ने ४/५ योजना लिएर आउन आग्रह गर्नुभयो । उहाँले आफूले सहकारी अभियानमा रहदा नियमनकारी निकाय र सहकारी अभियान मिलेर सहकारी गर्दा हुने समस्या पहिचान गरेको भन्दै सहकारी अभियानसँग मिलेर सहकारी अनुगमन गर्ने र यसरी अनुगमन गर्दा कुनै सहकारीमा कमजोरी देखिए उसलाई त्यो कमजोरी सच्याउन लगाउने बताउनुभयो । गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष विकास खड्काको अध्यक्षतामा सम्पन्न त्यस साधारण सभामा जिल्ला सहकारी संघ लि.,भक्तपुरका अध्यक्ष केदार खड्काले गाम्चा साकोसले गरिरहेको प्रगतिप्रति प्रशन्नता व्यक्त गर्दै सहकारीमा शेयर पूँजी र कोषहरुको रकम कुल कारोवारको कम्तीमा २० प्रतिशत हुनुपर्ने खाँचो औंल्याउनुभयो । उहाँले जिल्ला सहकारी संघ लि., भक्तपुरले स्वरोजगार कोष निर्माण गरेको छ र ऋणको माग भएमा ५ प्रतिशत व्याजदरमा रु.५०,००० सम्म एक वर्षसम्मका लागि ऋणको रुपमा प्रदान गर्न सकिने बताउनुभयो । त्यसैगरी भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्ने खाचो औंल्याउदै यतिबेला तरलताको समस्या बढेकाले घरजग्गा जस्ता क्षेत्रमा र एकै जनालाई धेरै ऋण दिन नहुने सुझाव दिनुभयो । यस्तै सूर्यविनायक नगरपालिका वडा नं.४ का वडाध्यक्ष लछु न्यौपानेले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्ने बताउनुभयो । यस्तै अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि., गाम्चाका अध्यक्ष दामोदर न्यौपानेले गाम्चा साकोसले छोटो समयमा उल्लेख्य प्रगति गरेको बताउनुभयो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-४, गाम्चा चोकमा सुविधा सम्पन्न बहुउद्देश्यीय भवनबाट सञ्चालन भइरहेको त्यसै संस्थाका उपाध्यक्ष देवलाल राजथलाले स्वागत मन्तव्य र सचिव विदुर खड्काले सञ्चालन गर्नु भएको कार्यक्रममा चलचित्रकर्मी मदन घिमिरे , अलगपथका सञ्चालक अर्जुन कार्की , सूर्यविनायक नगरपालिका वडा नं.७ का जनप्रतिनिधि मञ्जु पण्डित बस्नेत,जनता साकोस , छहारी साकोस, बालकुमारी साकोस, हिञ्चोक भैरव साकोस, दक्षिण बाराही महिला साकोस, घरपरिवार साकोस र चमेली कल्याणकारी सकोसका प्रतिनिधि , राष्ट्रिय सहकारी बैंक लि.को सूर्यविनायक शाखाका प्रमुख, नेफ्स्कूनको थिमी फिल्ड कार्यालयका प्रमुख , दधिकोट प्रहरी प्रभागका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

साधारण सभामा सोही संस्थाका अध्यक्ष विकास खड्काले सो संस्थाको सञ्चालक समितिको आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन , सचिव विदुर खड्काले

संस्थाको आर्थिक वर्ष २०७८/०७९को वार्षिक प्रतिवेदन , कोषाध्यक्ष सुशिल खड्काले त्यसै संस्थाको आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिकी संयोजक सविता भट्टराईले त्यसै संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । ती प्रतिवेदनहरु शेयर सदस्यहरु बीच छलफल गरी पारित गरिएको थियो ।

साधारण सभामा सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रु.१० हजार शैक्षिक विकासका लागि श्री अरनिको मा.वि. गाम्चालाई प्रदान गरियो भने त्यसै संस्थाको बैठक भत्ता बापतको रु.३५,००० शैक्षिक विकासका लागि वालचेतन मा.वि. गाम्चालाई प्रदान गरियो । त्यसैगरी अष्ट्रेलियामा बसोबास गरिरहेका उक्त संस्थाका अध्यक्ष विकास खड्काका भाइ विनोद खड्काले विगतका वर्षहरुमा झैं यस वर्ष पनि पठाएको शैक्षिक छात्रबृत्ति स्वरुपको रकम श्री अरनिकै मा.वि.का ३ जना विद्यार्थीलाई प्रदान गरियो । त्यस्तैगरी आफ्ना दिवंगत माता र पिताको नाममा त्यसै संस्थाका अध्यक्ष विकास खड्काले शैक्षिक विकासमा खर्च गर्ने गरी निर्माण गर्नु भएको १,११,१११ रुपैया रुपैया अक्षय कोषको रकम त्यसै संस्थाका कोषाध्यक्ष सुशिल खड्कालाई प्रदान गर्नुभयो ।

त्यसै संस्थाकी व्यवस्थापक निता अधिकारी सुबेदीले संयोजन गर्नु भएको त्यस साधारण सभामा सो संस्थाका उत्कृष्ट दैनिक बचतकर्ता अञ्जु प्रजापती राजथला र कृष्णबहादुर कोजु , उत्कृष्ट खुत्रुके बचतकर्ता एलभी के.सी., उत्कृष्ट गाम्चा विशेष बचतकर्ता भावना न्यौपाने गौतम र नारायण थापा, उत्कृष्ट ऋणी सदस्य सुनिता गुमाञ्जु र राजेन्द्रकुमार राजथला , उत्कृष्ट महिला समूह सुव्यापाखा महिला समूह, उत्कृष्ट शेयरकर्ता मनिषा थापा , उत्कृष्ट वाल बचतकर्ता अमृता राजथला तथा जेष्ठ शेयर सदस्य रमा खड्का र तेजबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यसै अवसरमा २०७९ सालको एस.ई.ई. मा उत्कृष्ट जीपीए का साथ उत्तीर्ण भएका सो संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply