नेपालका कम्युनिष्ट पार्टीले जनतासँग माफी माग्नुपर्छ

  • कृष्णहरि भट्ट

लामो बलिदानीपूर्ण संघर्षको गाथा निर्माण गरेर बनेको बर्तमान संसदीय व्यवस्थाले देश र जनताका आधारभूत तथा युगिन प्रकारका समस्याहरु अझै पनि समाधान गर्न सकेन । कम्युनिष्ट आन्दोलनले पनि वर्गीय राज्यसत्ता स्थापना गर्ने स्तरको संघर्षको विकास गर्न सकेन । जेजति संघर्षहरु भएका छन्, ती सबै सम्झौतामा फसेका छन् । वि.सं.२००७ सालमा दिल्ली सम्झौतासँगै राणाहरुसँगको सहकार्य, वि.सं. २०४६ सालमा चाक्सिवारी सम्झौता ,जो दिल्ली र राजाँग, वि.सं. २०६२÷६३ सालमा पुरानो संसदवादी तथा दिल्लीमा भएको १२ बुँदे सम्झौताको जगमा आएका परिवर्तनहरुले नेपाल र नेपालीका समस्याहरु समाधान गर्ने सामर्थ राख्दैन थियो । बरु शोषण र शासनको रुप फेर्ने हुन्थ्यो । त्यही भयो । यद्यपी, यसले मात्रात्मक परिवर्तन भने गरेको छ तर नेपाली जनताले पटकपटक गरेको संघर्ष न त सम्झौतामा तुहाउन थियो न त मात्रात्मक परिवर्तनका लागि थियो । नेपाली जनताको संघर्ष आमूल परिवर्तनका लागि थियो । यसो नहुनुको मुख्यः कारण भनेको नेपाली जनताको सच्चा पार्टी र प्रतिनिधि निर्माण भई नसकेको निश्कर्ष निस्कन्छ । मध्यम वर्गीय छद्म क्रान्तिकारी अवसरवादीहरुको कब्जामा पार्टी र आन्दोलन परेको तथ्य नेपाली जनतालाई बुझ्न अब गाह्रो छैन । यसरी आज नेपाली जनता हारिरहेका छन् । सामन्ती तथा दलाल नोकरशाही पूँजीवादी शोषण र उत्पीडन निरन्तर विजेता बनिरहेको छ ।
अहिले देशमा संसदवादी अधिनायकत्वको सामन्ती तथा दलाल नोकरशाही पूँजीवादी चरित्रको शासन व्यवस्था चलिरहेको छ । जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताको काम गर्दैन ।उसले आफ्नो र परिवारको हितमा काम गर्छ । विदेशीको हितमा काम गर्छ । यो व्यवस्थाले मल वीऊ यन्त्र उद्योग खोल्दैन, जलविद्युत आफुले गर्दैन । अन्य विकास निर्माण ठेक्कामा दिन्छ । देशलाई पनि ठेक्कामा दिन्छ । पैसा खर्च गरेर चुनाव जित्छन् । पाँच वर्षको अवधिभरी चुनावमा खर्च गरेको असुल उपर गर्दछन् । संसदवादमा विश्वास गर्ने कम्युनिष्ट पार्टीहरु, काँग्रेशहरु वा पुनरुथानवादी यथास्थितिवादीहरुको मुख्यः काम यही भएको छ । अब त को काँग्रेश वा पुनरुथानवादी यथास्थितिवादी वा कम्युनिष्ट नामधारी छुट्याउन मुस्किल भएको छ ।
नेपालमा कम्युनिष्ट पार्टी र आन्दोलनको स्थापना राजतन्त्र अन्त्य गरी संसदवाद स्थापना गर्न भएको थिएन । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद हुदै साम्यवादको यात्रा सुनिश्चित गर्न थियो । आज संसदवादी यथास्थितिवादी कम्युनिष्ट नामधारीहरुले राजनीतिक क्रान्ति पूरा भएको र अब समाजवादका लागि अगाडि बढ्नु पर्ने भ्रम दिदैछन् । संसदीय प्रणालीले समाजवाद स्थापना गर्न सक्दैन । संसदवाद भनेको पूँजीवाद नै हो । पूँजीवादले समाजवादको यात्रालाई अबरोध गर्ने हुन्छ । सहयोग हैन ।
अतः संसदवादमा पतन भएको शक्तिले न त देशलाई स्वाधीन बनाउन सक्छ न त जनताका समस्याहरु समाधान गर्न नै सक्छ । यिनीहरुले त देश र जनतालाई लुटिखाने भाडोमात्र बनाउन सक्छन् । यस्तो अबस्थाबाट देश र जनतालाई मुक्त गर्न मार्क्सवादी चेतना सहितको कम्युनिष्ट पार्टीले सञ्चालन गर्ने सम्झौताहीन संघर्षबाटमात्र हुन सक्छ । कम्युनिष्ट पार्टी भनेको सर्वहारा वर्गीय पार्टी हो । यस्तो प्रकारको संघर्ष मार्क्सवाद, लेनिनवाद र माओ विचारधारामा आधारित कम्युनिष्ट पार्टीले मात्र गर्न सक्छ तर नेपालमा कम्युनिष्ट पार्टी विभाजन र विचलनको चपेटामा छन् । सैद्धान्तिक विभाजन भन्नेहरुले एक आपसमा विश्वास गर्न नसकेको र कमीहरुको रुपान्तरण गर्ने कार्यमा अल्छी गरेको देखिन्छ भने रुपान्तरित हुनु पर्नेहरुमा पुरानो अमार्क्सवादी धङधङती रहनु र यही चेतना र चरित्र हावी हुनु समस्याको रुपमा रहेको छ । पार्टी विभाजन आफैमा विचलन हो । वि.सं. २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी वि.सं. २०२५ सालसम्म विभाजन भएको थिएन । यो अवधी पार्टीमा सैद्धान्तिक विचलनदेखि प्रतिधुव्रिय राजनीतिमा प्रवेश गर्ने तहसम्मका हर्कतहरु भएका थिए । पार्टीको मुल नेतृत्व जनताको मुक्ति आन्दोलन प्रतिको जिम्मेवारिता र जवाफदेहिताले पार्टीमा फुट नभएको हो । यसरी स्थापित पुष्पलालको नीति र नेतृत्वको विरोधीहरु आज सबैले सत्ताको आस्वादन गरेका छन् तर देश र जनताका आधारभूत समस्याहरु पनि समाधान गरेका छैनन् । कोही सत्ताको आस्वादन गर्न नपाएको वा नसकेकोमा पीडाले छटपटिमा रहेका छन् भने कोही दक्षिणपन्थी र उग्रवामपन्थी विर्सजनको बाटोमा लागेर पनि केही निश्चितहरु बाहेकले सत्ताको आस्वादन गर्न नपाएकाले फुटको मुख्यः कारण जसरी पनि राज्यसत्तामा पुग्ने र लुट्ने देखिएको छ । अर्को पाटो क्रान्तिकारीहरुको छ । जो यो सब गलत भइरहेको छ । यसलाई बदल्नु पर्छ । क्रान्तिकारी धु्रवीकरण र एकता गर्नुपर्छ भनिरहेका छन् तर पनि उनीहरु कुनै न कुनै रुपमा गोलचक्करमा फसिरहेका छन् । जसलाई तुलनात्मक रुपमा जनताले विश्वास गर्दछन् । उनीहरुमा रुपान्तरण भन्दा ज्यादा फुट भइरहेको छ । यसरी कम्युनिष्ट पार्टी र आन्दोलन टुट फुट र गुटको प्रयाय बनेको छ ।
जनताको विजयको शुरुआत मार्क्सवादमा आधारित वैज्ञानिक शासन व्यवस्थाको स्थापनाबाट मात्र हुन्छ । हुन नसकुञ्जेल सम्भब नभएको तथ्य स्थापित तथ्य हो । सामन्तीहरुले आफ्नो शोषण र शासनको निरन्तरताका लागि शक्ति केन्द्रसंग सदैव सम्झौता गदैं आइरहेकै हुन् । यो चिन्तन र चरित्र रहुञ्जेल उनीहरु यसो गरिरहन्छन् । सामन्तको गर्भबाट विकास हुने चिन्तन र चरित्र भनेको पूँजीवाद हो । सामन्ती तथा दलाल नोकरशाही पूँजीवादको अन्त्य गरी नयाँ जनवादी व्यवस्था स्थापनाका लागि सबै भन्दा पहिला नेपाली न्यायप्रेमी परिवर्तनकामी जनतासँग, शहीद तथा वेपत्ता परिवारसँग, घाइते तथा असरल्ल वेवारिसे बनाइएका क्रान्तिकारीहरुसँग माफी माग्नुपर्छ र एक गठ भएर अब हामी संयुक्त जनविद्रोह जनक्रान्तिको आँधीबेरी सृजना गरी जनवादी गणतन्त्र नेपालको स्थापनामा प्रतिबद्ध छौं भनेर सामुहिक प्रतिबद्धता गर्नु पर्दछ ।

(भट्ट नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख हुनुहुन्छ ।)

Leave a Reply