सरकारको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन हुने आधार देखिदैन ।

आर.बी. भण्डारी , उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी

२०७९ जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको आगामी आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम र त्यसैमा आधारित रहेर २०७९ जेठ १५ गते अर्थ मन्त्री जनार्दन शर्माले संघीय संसदमा प्रस्तुत गरेको नेपियर सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य यथार्थपरक छैन । समग्रमा भन्दा यो खराब संसदीय व्यवस्थाको चरित्र अनुरुप नै छ । यसले अघिल्लो अव्यवहारिक सरकारको घुमाउरो प्रतिनिधित्व गरेको छ । विश्वभर र हाम्रो देशको जुन संकटपूर्ण आर्थिक अवस्था छ , त्यसलाई सुब्यबस्थित गर्ने खालको नभई यो संघ र प्रदेशको आगामी चुनावलाई ध्यानमा राखेको र बजेटको निम्ति अन्तर्राष्ट्रिय ऋण र अनुदानलाई मुख्य आधार बनाएकोले समग्रमा यो बजेटको कार्यान्वयन हुने कुनै आधार देखिदैन । सरसर्ती हेर्दा यो कार्यक्रमले सबै क्षेत्र समेटेको जस्तो देखिएपनि यसले खासै देशको आवश्यकताको पहिचान र जनस्तरको दिगो रुपमा आत्मनिर्भर हुने तथ्यमूलक नरहेको हुँदा यसलाई राम्रो भन्न सकिदैन । यो केवल कर्मकाण्डी मात्र हो । नेपालको संविधानले अंगिकार गरेको समाजवादी बाटोलाई यसले पूरै बेवास्ता गरेको पाइन्छ । रोजगारीको प्रबन्ध मिलाई देशको आन्तरिक उत्पादन बढाउने खालको ठोस कार्यदिशा यसमा देखिदैन । यो पूर्ण परनिर्भरता मै रुमलिएको देखिन्छ । समग्रमा नेपाल सरकारको यो नीति तथा कार्यक्रम र बजेट खाली कार्यक्रमका निम्ति मात्र भएको भन्न सकिन्छ ।

Leave a Reply