भक्तपुर नगरपालिका-४,भुदाँचामा आफ्नै भवनबाट सञ्चालन भइरहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को सदस्य तथा बचत उपसमितिको आयोजनामा संस्थामा आवद्ध सदस्य, समिति, उपसमिति एवं कर्माचारीहरुले आफ्नो मनमा लागेका कुराहरुको सहि तरिकामा प्रस्फुटन गराउने उद्देश्यले २०८२ आषाढ १ गतेदेखि ८ गतेसम्म एक हप्ते सार्वजनिक सम्बोधन कला तालिम त्यसै संस्थाको तालिम हलमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष राधेश्याम सुवालको प्रमुख आतिथ्यता, व्यवस्थापक शिवजी हाकुदुवाल र प्रशिक्षक रविन्द्रप्रसाद कुसीको आतिथ्यतामा तथा संस्थाको बचत तथा तालिम उपसमितिकी संयोजक शर्मिला मानन्धरको अध्यक्षतामा उक्त तालिमको समापन कार्यक्रम २०८२ आषाढ ८ गते सम्पन्न भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवालले अहिलेको परिस्थितिमा सहकारी क्षेत्रमा आएको समस्याहरु निराकरण गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको नियमकीय मापदण्डले सहकारी अभियानलाई कमजोर र संकुचनमा ल्याउने भएकोले यसबाट राम्ररी सञ्चालन भइरहेका सहकारी संघ संस्थाहरु पनि समस्याग्रस्त हुने सम्भावना रहेको विचार व्यक्त गर्नुभयो । यस वाक कला तालिमबाट सिकेका सिकाई आफ्नो जीवनको हरेक पाइलामा प्रयोग गरेको खण्डमा तालिमको सार्थकता हुने भन्दै उहाँले ‘जनमानसको कुरालाई सकारात्मक रुपमा सुनिसकेपछि मात्र हामीले जनमानसको मनसाय बुझी हाम्रो कुरा सुनाउने वातावरण बनाउनुपर्छ साथसाथै संस्थाप्रति सदस्यहरुले राखेको सकारात्मक सोचले गर्दा हाम्रो संस्था यहाँसम्म आइपुगेको र भविष्यमा पनि यस्तै साथ सहयोगको अपेक्षा गर्दछु’, भन्नुभयो ।
यस सहकारी संस्थाले विगत र वर्तमानमा पनि बचत तथा ऋणको कार्य मात्र नभई हरेक कार्य सदस्यमुखी भई सामाजिक, साँस्कृतिक, तालिम, शिक्षा, स्वास्थ्य, व्यवसाय आदिको उत्थानको लागि कार्य गर्दै आएको विचार व्यक्त गर्नुभयो ।
यसैगरी सोही संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले समापन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै तालिमलाई अझ सार्थकता दिनको लागि ७ “अ” को सिद्धान्तबाट पनि वाक कलालाई अझ राम्रो गर्न सकिने विचार व्यक्त गर्नुभयो । संस्थाबाट आयोजित कार्यक्रमको उद्देश्य वित्तीय फाइदाको लागि नभएर सदस्यको व्यक्तित्व विकास गराई अप्रत्यक्ष रुपमा सदस्यहरुलाई आर्थिक उपार्जन गराउने कार्य भइरहेको भन्दै उहाँले सम्पूर्ण सहभागीले तालिममा सिकेका ज्ञान, सीप र कला अरुलाई हस्तान्तरण गरी नयाँ व्यवहार र सँस्कृति विकास गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी तालिमका प्रशिक्षक रविन्द्रप्रसाद कुसीले आफ्नो मन्तव्य प्रेरणादायिक कथाबाट शुरु गर्नुभइे ‘अवसर भनेको बगेको खोलामा पात बगे सरि हो ,जसलाई हामीले टिपेर सहि रुपमा जीवनमा प्रयोग गर्नुपर्दछ । शिक्षक भनेको आफुसँग भएको ज्ञान र सीपलाई सामथ्र्यले भ्याएसम्म विद्यार्थीलाई दिने व्यक्ति हो भने विद्यार्थी त्यो हो, जसले प्राप्त गरेको ज्ञान र सीपलाई आ-आफ्नो तरिकाबाट सदुपयोग गर्दछ’, भन्नुभयो । तालिममा सहभागी प्रशिक्षार्थीहरुमा प्रारम्भको दिनबाट समापनको दिनसम्म आइपुग्दा धेरै प्रगति भएको विचार व्यक्त गर्दै उहाँले संस्थाले पनि यस्तो तालिम भविष्यमा पनि आयोजना यस गर्ने आशा व्यक्त गर्नुभयो ।
उक्त समापन कार्यक्रममा त्यसै संस्थाको सदस्य तथा बचत उपसमितिका सदस्य एवं तालिमकी प्रशिक्षार्थी जमुना त्वानाबासुले स्वागत मन्तव्य तथा तालिममा सहभागी प्रशिक्षाथीहरु रामलक्ष्मी प्रजापति, रवि ध्वजु, जेनि दुवाल र बिष्णु केशरी ताम्रकारले तालिममा प्राप्त भएको अनुभवबारे चर्चा गर्नु गर्नुभयो । सो समापन कार्यक्रमको सञ्चालन सोही तालिमकी प्रशिक्षार्थी संगिता पंचले गर्नुभएको थियो ।
समापन कार्यक्रममा सो तालिममा सहभागी २५ जना सदस्यहरुलाई प्रमाण-पत्र प्रदान गरियो । त्यस कार्यक्रमकी अध्यक्ष शर्मिला मानन्धरले उक्त कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम विर्षजन भएको घोषणा गरी तालिम सम्पन्न भएको घोषणा गर्नुभयो ।






