श्री बाराही साकोसमा दुबोको माला बनाउने र सुपारी सजावट तालिम सम्पन्न

भक्तपुर नगरपालिका-४, भुलाँचामा आफ्नै भवनबाट सञ्चालन भइरहेको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा दुई दिवसीय दुबोको माला बनाउने र सुपारी सजावट तालिम प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र वितरण गरी २०८२ मंसीर २५ गते बिहीबार सोही संस्थामा सम्पन्न भयो । उक्त संस्थाको सदस्य तथा बचत उप-समितिद्वारा आयोजनामा यो तालिम २०८२ मंसिर २४ गते शुरु भई २५ गते सम्पन्न भएको हो ।
तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि सोही संस्थाका अध्यक्ष राधेश्याम सुवालले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र प्रदान गर्नुभयो । त्यस अवसरमा अध्यक्ष सुवालले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले यस्ता सीपमुलक तालिमले बेरोजगारी घटाउने र स्थानीय स्तरमा स्वरोजगारका अवसर सृजना गर्न महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिम हाम्रो संस्थाको सशक्तिकरण र स्वरोजगार अभियानको एक महत्वपुर्ण पाटो हो भनी संस्थाका महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउने, उहाँहरुको आय आर्जनको बाटो फराकिलो पार्ने र घरमै बसेर पनि अतिरिक्त आम्दानी गर्न सघाउने उद्देश्यले यो तालिम आयोजना भएको उक्त समापन कार्यक्रमलाई सम्बोधन गर्द‌ सो संस्थाका व्यवस्थापक शिवजी हाकुदुवाले बताउनुभयो । उहाँले तालिममा सहभागी सदस्यहरु र प्रशिक्षक लगायतलाई धन्यवाद ज्ञापन गर्दै यस संस्थाको उद्देश्य आफ्ना सदस्यको आर्थिक तथा सामाजिक सशक्तिकरण, सहकारीको भुमिका र सीप विकासको महत्वबारेमा प्रकाश पार्नुभयो । सकारात्मक सोच, सामूहिक भावना र आत्मनिर्भरतामा जोड दिदै उहाँले तालिमबाट प्राप्त सीपलाई आम्दानीको स्रोत बनाउन प्रोत्साहन गर्ने मुख्य सन्देश दिदै आगामी दिनमा पनि यस्तो तालिम कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
तालिममा त्यसै संस्थाका १५ जना सदस्यहरुको सहभागिता रहेको थियो । तालिमकी प्रशिक्षक रविता बासुकलाले तालिम अवधिभर सहभागीहरुलाई प्रयोगात्मक प्रशिक्षण सहित दुबोको माला र सुपारी सजाउने बारेमा सैद्धान्तिक ज्ञान, व्यवहारिक ज्ञान, आवश्यक सामाग्री र बजारको अवस्थाबारेमा समेत ज्ञान र सीप हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा प्रशिक्षार्थीहरुमध्येबाट श्रीलक्ष्मी पंच र राम लक्ष्मी भैलले आफूले तालिममा सिकेको सिकाईको अनुभव व्यक्त गर्दै तालिमबाट आफ्नो लागि निकै फलदायी रहेको र यसले भविष्यमा आम्दानीको बाटो देखाएको भन्दै प्रशिक्षक र श्री बाराही साकोस प्रति धन्यवादसहित कृतज्ञता व्यक्त गर्नु भएको थियो । सो अवसरमा त्यसै संस्थाकी कर्मचारी रामलक्ष्मी प्रजापति, उपसमितिका सदस्य जमुना त्वानाबासु र रचना खायमलीले पनि मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएकी सो संस्थाको बचत तथा सदस्य उप-समिति संयोजक शर्मिला मानन्धरले कार्यक्रममा उपस्थित सबैलाई तालिम सफल गर्न सहयोग गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दै तालिममा सहभागी प्रशिक्षार्थीले तालिमबाट प्राप्त ज्ञान र सीपको सदुपयोग गर्नु हुन विश्वास व्यक्त गरी कार्यक्रम समापन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *